असार ७
बुद्ध जन्मस्थल लुम्बिनी पर्यटकले भरिभराउ हुन थालेको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म आन्तरिक र सीमित मात्रामा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको भरमा लुम्बिनी थियो । अहिले भने आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक धेरै मात्रामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
पछिल्ला दिनमा लुम्बिनीमा भारतीय पर्यटकको आगमन उल्लेख्य छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध पूर्णिमाका दिन लुम्बिनी भ्रमण गरेका थिए । त्यसपछि भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी भ्रमणमा आएको कोषले जानकारी दिएको छ। मोदीको लुम्बिनी भ्रमणपछि १२ हजार ७ सय बढी भारतीय पर्यटक लुम्बिनी आएका छन् ।



‘लुम्बिनीमा अहिले आन्तरिक र भारतीयसँगै तेस्रो मुलुकका पर्यटक आउनेक्रम राम्रो छ’, कोषका सूचना अधिकृत डा.हरि राईले भने, ‘यसले लुम्बिनीसँगै पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’ कोषकाअनुसार पछिल्लो मे महिनामा ८६ हजार २४६ आन्तरिक पर्यटकले लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।
मे महिनामा मात्रै ५१ मुलुकबाट ७८२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । ‘कोरोनाका कारण पहिला तेस्रो मुलुकका पर्यटक निकै कम आएका थिए, एक महिनायता धेरै सुधार छ’, डा.राईले भने । कोरोना अघि लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी वार्षिक १६ लाखको हाराहारीमा पर्यटक आउँथे । अहिले यो संख्या निकै घटेको छ । यद्यपि पछिल्लो एक महिनायता पर्यटक आगमन सुधारोन्मुख छ ।
विकास कोषकाअनुसार सन् २०२२ को पछिल्लो पाँच महिना भारतीय पर्यटक मात्रै ६९ हजार ७७५ लुम्बिनी भ्रमणमा आएका छन् । यो अवधिमा तेस्रो मुलुकका दुई ७३७ पर्यटक आएका छन् । सन् २०२१ भरीमा जम्मा एक हजार १९७ तेस्रो मुलुकको पर्यटक लुम्बिनी आएका थिए । भारतीय भने ४३ हजार ७३२ आएका थिए ।
पछिल्लो पाँच महिनाको अवधिमा दुई लाख ८९ हजार ५९४ स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । २०२१ मा ४ लाख ६३ हजार ९६३ स्वदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांक छ । मायादेवी मन्दिर प्रवेशमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका स्थानीयलाई प्रवेश शुल्क लाग्दैन भने यी जिल्लाबाट भ्रमण गर्नेको तथ्यांकसमेत राखिँदैन । अन्य जिल्ला, भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई मायादेवी प्रवेशमा शुुल्क लाग्दै आएको छ ।
‘नेपालमा कोरोनाको जोखिम कम हुँदै गएको छ, यसले गर्दा पनि पर्यटक आगमन राम्रो देखिएको हो’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भने, ‘पर्यटक आगमन राम्रो हुँदा पर्यटन क्षेत्र पनि तंग्रिँदै गएको छ ।’ लुम्बिनीमा पर्यटक आगमन राम्रो हुँदै गए पनि बौद्धिष्ट मुलुकका पर्यटक भने निकै कम आएको कोषले जनाएको छ । लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक आगमन सुधारले व्यवसायीमा थोरै मात्रामा भए पनि उत्साह थपिएको जनाए ।



