असार ६
पर्यटकीय नगरी पोखरा मा भारतीय पर्यटक को घुइचो लाग्ने गरेको छ ।
भारतीय नम्बर प्लेटका सवारी अचेल लेकसाइड लगायत पोखराका अन्य बजारमा छ्याप छ्र्याप्ती भेटीन्छन । कार, जिप, यान जस्ता साना सवारी र ठूला बसमा समूहमा आउने भारतीय पर्यटकको चहलपहलले लेकसाइड गुल्जार भएको छ ।
कोरोना महामारी ले झन्डै दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा हाल भारतीय पर्यटकको आगमनले राहत मिलेको व्यवसायीले बताएका छन। गर्मी छल्न भारतका सीमावर्ती सहरबाट आउने पर्यटकको संख्या बढी रहेको छ । तेस्रो मुलुकका पर्यटकको आगमन कम हुने समयमा भारतीय पर्यटकको उपस्थितिले पर्यटन व्यवसायी उत्साहित भएका छन । ‘अफ सिजन’ मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसाय भरथेग गरेको व्यवसायीको भनाइ छ ।
गत जेठमा भारतीय र आन्तरिक पर्यटकले पोखराका ८० प्रतिशत होटल भरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन । भारतको उत्तरप्रदेश र बिहारका सहरबाट धेरै पर्यटक पोखरा आएका छन । पोखरा हुँदै मुक्तिनाथ जाने भारतीय पर्यटकले २–३ रात पोखरामा बिताउँछन । ‘अहिले भारतीय पर्यटकको आगमन देख्दा आगामी सिजनमा पर्यटन पुनरुत्थान हुन्छ भन्ने आशा लिएका छौं,’ उनले भने,
पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा आएको पहिरोपछि भने असार पहिलो साता भारतीय पर्यटकको आगमनमा केही कमी आएको उनले बताए ।



पोखरा आउने भारतीय पर्यटक फेवातालमा डुंगा चढ्न, प्याराग्लाइडिङ गर्न, वरपरका पर्यटकीय स्थलको भ्रमण गर्न रुचाउँछन । नयाँ गन्तव्यका रूपमा रहेको पुम्दीकोटको शिव मूर्ति र सराङकोट पुग्ने अन्नपूर्ण केबलकार पनि भारतीयको रोजाइमा पर्ने गरेको छ ।
पोखरा बाट हाल भैरहवा, नेपालगन्ज, धनगढी, सिमरा र जनकपुरमा सीधा हवाई सेवा सञ्चालनमा छ । सुनौली नाका हुँदै भैरहवाबाट हवाईमार्ग हुँदै पोखरा भित्रिने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराज अधिकारीले बताए । सीमा नजिकका विमानस्थलबाट हवाईमार्ग हुँदै पोखरा आउने यात्रुमध्ये ६० प्रतिशत भारतीय रहेको उनको भनाइ छ ।
होटल संघ पोखराले हरेक वर्ष भारतका सीमावर्ती सहरमा पुगेर प्रवर्द्धनात्मक कार्यक्रम ‘चलिए पोखरा’ गर्दै आएको छ । पोखरा पर्यटन परिषद्ले भारतमा हुने बंगाल ट्राभल मार्टलगायत विभिन्न पर्यटनसम्बन्धी मेलामा पोखराको प्रवर्द्धन गरेको छ । पोखराकै प्रवर्द्धन गर्न पर्यटन व्यवसायी युवाको समूह ‘डुलुवा’ एकमहिने भारत यात्रामा छ । जेठ २२ मा यात्रा थालेको डुलुवा समूहमा १९ युवा छन । उक्त टोली नेपालको महेन्द्रनगरबाट भारतको अमृतसहर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिमला, देहरादुन, नैनीताल, हलपुर हुँदै बुटवलबाट फर्किनेछ । पोखराका साहसिक गतिविधिको प्रवर्द्धन भारतीय सहरमा गरिरहेको टोली प्रमुख एवं प्याराग्लाइडिङ पाइलट योगेश भट्टराईले बताए ।![]()



