रूपन्देही सुपर लिग ः तिरुपति २६८ रनले विजयी

२०८० चैत्र २३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

चैत २३

संदीप मौर्य र एजाजुल हकको शतकको मद्दतमा भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लबले सानदार जीत निकालेको छ । तिरुपतिले बुटवल–११ लाई २ सय ६८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित हात पारेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा ३ सय ६६ रनको उच्च योगफल खडा गर्यो । उसका लागि संदीप मौर्यले १२१, आकाश त्रिपाठीले १११, एजाजुल हकले ५५, तुलबहादुर थापाले ३० र रोहित थापाले नटआउट १३ रनको महत्वपूर्ण योगदान गरे । बलिङमा बुटवल–११ का विनोद थापाले ४, प्रमिश अर्यालले २ तथा विभेष खाती र आश्विन भट्टराईले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल २० ओभर २ बलमा अलआउट हुँदै ९८ रनमै सीमित भयो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका तुलबहादुर थापाले ३, यम क्षेत्री र आकाश त्रिपाठीले २–२ तथा थमन सिंजाली, सुभाष खत्री र संदीप मौर्यले समान १–१ विकेट लिए । बुटवल–११ का विवेक शर्माले २३, प्रमिश अर्यालले २१, तौसिफ आलमले १५ र एजाज अहम्मदले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले फराकिलो अन्तरले पराजित भयो । खेलमा तिरुपतिका संदीप मौर्य प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय