बैशाख ४
भारतीय सहयोगमा धनुषाको बटेश्वर गाउँपालिकास्थित एक विद्यालयको भवन शिलान्यास गरिएको छ। विरगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा चारतले भवनको एक समारोहबीच शिलान्यास गरेका हुन्।
विद्यालयको खाली रहेको करीब दुई विघा जग्गामा चार करोड रुपैयाँको लागतमा चार तल्ले भवन निर्माण हुनेछ। न्वनिर्मित भवनमा रसायनशास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालयको व्यवस्था हुने जनाइएको छ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत मिनाले भारत–नेपाल विकास साझेदारी अन्तर्गत मधेश प्रदेशमा ८९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) स्वीकृत गरिएको जानकारी दिए। तीमध्ये धनुषामा २१ वटा परियोजना रहेका छन्।
धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सम्पन्न भइसकेको समेत उनले बताए।
महावाणिज्यदूत मिनाले विद्यार्थीहरूलाई आधुनिक र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउने भारत सरकारको लक्ष्य रहेको उल्लेख गर्दै बालबालिका तथा विद्यार्थीका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले भारत सरकारले सहयोग प्रदान गर्दै आएको बताए।
यसअघि भारत सरकारको सहयोगमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको थियो।उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण अंश रहेको उल्लेख गर्दै उनले विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा आधारभूत पूर्वाधार विकास गर्ने उद्देश्यले यी परियोजनाहरू कार्यान्वयन हुँदै आएको उनले जानकारी समेत दिए।
भारत सरकारको सहयोगमा देशका विभिन्न स्थानसँगै मधेश प्रदेशमा पनि विभिन्न विकास परियोजना स्वीकृत गर्नुका साथै एम्बुलेन्स र स्कूल बससमेत सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय प्रशासनका पदाधिकारीसहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।






