बैशाख ९
नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति राष्ट्रिय सभाका सांसदहरूले विरोध जनाएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै धेरै सांसदहरूले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।
बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति विरोध जनाए । उनले विरोध गरेसँगै अन्य सांसदहरूले सरकारको ध्यानाकर्षण गराउन माग गरे। ठाकुरले सीमा क्षेत्रमा गरिएको अनावश्यक कडाइले मधेस र सिमाना आसपासका नागरिकले दैनिक सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ठाकुरले नेपाल र भारतबिचको खुल्ला सिमाना र सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा रोटी–बेटीको सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुनेमा जोड दिए । उनले घरायसी प्रयोजन र दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘सीमा क्षेत्रमा बसोबास गर्ने मधेसी जनताको जनजीवन र दैनिकी प्रत्यक्ष रूपमा पारिको बजारसँग जोडिएको छ,’ ठाकुरले बैठकमा भने, ‘तर, अहिले सिमानामा गरिएको कडा जाँच र निगरानीले गर्दा आम नागरिकले पाइला– पाइलामा सास्ती खेप्नुपरेको छ । सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्छ ।’ उनले सीमामा हुने चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने पनि त्यसको नाममा सर्वसाधारण नागरिकलाई आतङ्कित पार्ने र दुःख दिने प्रवृत्ति स्वीकार्य नहुने बताए।
ठाकुरले सरकारलाई तत्काल सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्ती रोक्न र दैनिक जीवनयापनका लागि सहज आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।
सांसद घनश्याम रिजालले सरकारलाई सहजीकरण गर्न समितिले निर्देशन दिनुपर्ने बताए । उनले सीमाका जनतालाई अमानवीय व्यवहार भएको बताए ।
त्यस्तै, सांसद उर्मिला अर्यालले पनि सिमानामा रहेका जनतालाई अमानवीय व्यवहार तत्काल रोक्न आवश्यक रहेको बताइन् । उनले सिमानामा हुने चोरी पैठारी रोक्नुपर्छ तर १०० रुपैयाँको सामान ल्याउँदा ल्याउन दिनुपर्ने बताए।
त्यस्तै, सांसद नारायण दत्त भट्टले सिमानामा जनतालाई दुःख दिने काम तत्काल रोक्न आवश्यक रहेको बताए । उनले सरकारले त्यहाँको व्यवहारिकतालाई हेरेर मात्रै कार्यान्वयन गर्न सक्नुपर्ने बताए।
समिति सदस्य सम्झना देवकोटाले पनि सिमानाको कडाइलाई सहज बनाउन आवश्यक रहेको बताइन् । उनले समितिले सहजीकरण गर्न निर्देशन दिनुपर्ने बताइन्।
त्यस्तै, सांसद रेखाकुमारी झाले पनि सिमानामा भारतबाट एक केजी सामान ल्याउँदा पनि समस्या भोग्नु परिरहेको बताइन।् उनले सरकारले यस्तो कार्य तत्काल रोकेर सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।






