रूपन्देही सुपरलिगः साई ग्लोबलको दोस्रो जित

२०८२ चैत्र २७, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा चैत २७
साई ग्लोबल क्रिकेट क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनका खेलमा दोस्रो जित निकालेको छ । आफ्नो दोस्रो जित निकाल्ने क्रममा साई ग्लोबलले शुक्रबार गोलपार्क क्रिकेट क्लबलाई ५ विकेटले हराएको हो ।
जितका लागि पाएको २ स १४ रनको लक्ष्य साई ग्लोबलले ३३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा २ सय १८ रन बनाउँदै पूरा गर्यो । उसको जितमा जितेन्द्र केवटले ९७, शैलेन्द्र यादवले अविजित ३६, जावेद खानले २८ र अजय चाईले नटआउट २३ रनको योगदान गरे । बलिङमा गोलपार्कका सुप्रिम कंडेलले ३ तथा प्रशान्त अर्याल र अनिश जोय गुरुङले १–१ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गोलपार्कले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो । उसका लागि अनिश जोय गुरुङले १ सय २८ रनको शतकीय पारी खेले यस्तै, अशुफक खानले १९, अर्पण तिमिल्सिनाले १५ र रिक्कीराम पुनले १४ रन बनाए । बलिङमा साई ग्लोबलका सहज अर्यालले ३, शैलेन्द्र यादवले २ तथा शिवकुमार गुप्ता, सत्यम हरिजन र जावेद खानले १–१ विकेट लिए । खेलमा जितेन्द्र केवट प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।
यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय