मंगलबारदेखि भैरहवामा साई ग्लोबल अन्तरकलेज क्रिकेट

२०८२ फाल्गुन ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा फागुन ४
भैरहवामा भोलिदेखि जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो। आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
संघका अध्यक्ष हरिबहादुर थापाले जिल्ला स्तरमा खेलाडी उत्पादनमा टेवा युर्याउने उद्देश्यले विगत लामो समयदेखि साई ग्लोबल कलेजसँग सहकार्य गरेर संघले प्रतियोगिता सचालन गर्दै आएको जानकारी दिए । फागुन ५ देखि १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता छ । संघले क्रिकेटको विकास र खेलाडी उत्पादनमा ध्यान दिँदै हरेक वर्ष तालिका अनुसार प्रतियोगिता गराउँदै आएको अध्यक्ष थापाले बताए ।
मुख्य प्रायोजक साई ग्लोबल कलेजमा प्राचार्य दिनेशमान अमात्यले कलेज आफैले प्रतियोगिता आयोजना गर्दा सबै टिम सहभागी नहुने, खर्च बढी हुने र सबै पक्ष सन्तुष्ट नहुने वातावरण देखिएपछि क्रिकेट संघसँग सहकार्य गरिएको जनाए । उनले संघसँगको सहकार्यले राम्रो प्रतिक्रिया पाइरहेको बताए । सदाझै यसपटक पनि प्रतियोगिताले राम्रो सफलता पाउने अध्यक्ष अमात्यको विश्वास छ ।
क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाँणले खुल्ला आह्वान गरेर टीम दर्ता गरिएको जनाउँदै धेरै टिमको सहभागिताले प्रतियोगितालाई थप उत्कृष्ट बनाएको बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउने छन् । यस्तै, प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
रुपन्देहीमा संचालित निजी तथा सामुदायिक कलेजका टीम प्रतियोगितामा सहभागी छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुनेछ । यो प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर संचालन हुँदै आएको छ । पछिल्लो चार सिजन भने क्रिकेट संघसँगको सहकार्यमा संचालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय