भैरहवा मसिर १८
पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ ‘प्रथम भैरव नक आउट फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । श्री भैरव युवा क्लब तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, नयाँगाउँ, रानीगाँउको आयोजनामा उक्त प्रतियोगिता यही मंसिर २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका सल्लाहकार तथा स्थानीय युवा सुशील गुरुङले लामो समयदेखि भैरहवा क्षेत्रमा हुन नसकेको राष्ट्रिय स्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी नगरलाई खेलकुदमय बनाउने र बचेको रकमबाट स्थानीय पक्लिहवा माविका जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
‘रुपन्देहीको बुटवलदेखि दक्षिणी क्षेत्रमा धेरै बर्षदेखि गोल्डकप प्रतियोगिता हुन सकेको छैन’, गुरुङले भने, ‘यो प्रतियोगिता गोल्डकपको पूर्वतयारीका लागि ट्रायलको रुपमा पनि सञ्चालन गर्न लागिएको हो ।’ उनका अनुसार यो प्रतियोगिताले सफलता पाएमा निकट भविष्यमैं गोल्डकपको पनि आयोजना गरिने छ । सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गर्ने गरेको महात्मा बुद्ध नकआउट फुटबल प्रतियोगिता साढे दुई दशक भन्दा बढि समयदेखि सञ्चालन हुन सकेको छैन । सात बर्ष अघि आयोजना गर्न लागिएको उक्त गोल्डकप कोरोनाका कारण स्थगित भएको थियो ।
पक्लिहवा माविको मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा रुपन्देही र नवलपरासी जिल्लाका कुल ८ वटा फुटबल क्लबको सहभागिता रहने जनाइएको छ । उक्त खेल मैदानमा झण्डै चार दशक अघि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सम्पन्न भइसकेको हो ।
प्रतियोगितामा आयोजक श्री भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगर, अन्चलपुर युवा क्लब, अन्चलपुर सिद्धार्थनगर, लिस्नु युवा क्लव, कोटिहवा तिलोत्तमा, सम्पूर्ण युवा क्लब, सुपौली तिलोत्तमा, फर्साटिकर युवा क्लब, फर्साटिकर शुद्धोधन, भैरव युवा क्लब, रामग्राम नवलपरासी, ठुटीपिपल युवा क्लब, ठुटीपिपल ओमसतिया र मोन्सस्टर गाइज सुनवल, नवलपरासी टिमको सहभागिता रहने छ ।विजेता टिमले नगद १ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले नगद ७ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाले प्रतियोगिताको अवसरमा फुटबलमा योगदान गरे बापत नेपाल र छिमेकी राष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्व खेलाडीहरू चेतन गुरुङ्ग, अशोक गुरुङ्ग, किशन थापा, श्याम गुरुङ्ग, अशोक राना (बाङ्ग) तथा बुद्धिराम नेपालीलाई सम्मान गरिने जनाए ।
प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले सहकार्य गर्दै ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बाँकी रकम स्वदेश र विदेशका शुभेच्छुक, खेलप्रेमी, उद्योगी व्यवसायी तथा टिकट विक्रीबाट प्राप्त गरिने थापाले बताए ।






