भैरहवा, माघ २८
वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा उपाधिका लागि भिड्ने भएका छन् । वेष्टर्नले तिलोत्तमा क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेपछि यी दुई टिमबीच उपाधि रक्षाका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो । खुकुरीले सेमिफाइनलमा तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । वेष्टर्न र खुकुरीबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
जितका लागि पाएको ९६ रनको झिनो लक्ष्य वेष्टर्नले २३ ओभरमा ७ विकेटको नोक्सानीमा ९९ रन बनाउँदै पूरा गरी फाइनल प्रवेश गर्यो । उसको जितमा देव खनालले ३३, रन्जित खड्काले २२ र सन्देश थापाले अविजित १५ रनको योगदान गरे । बलिङमा तिलोत्तमाका विपिन खत्री, हरिशंकर साह र सागर भण्डारीले समान २–२ विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९५ रन बनाएको थियो । उसका लागि मनिष थापाले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम उपाधि होडबाट बाहिरियो । बलिङमा तिलोत्तमालाई सस्तैमा रोक्न वेष्टर्नका रन्जित कुमारले ४, देव खनालले ३, सन्देश थापाले २ तथा नरेन साउदले १ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका देव खनाल प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।






