रुपन्देही–३ मा गृहमन्त्री खाँणद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतवार
पढ्ने समय : < 1 मिनेट

असोज २३
यसपटक आम निर्वाचनको केन्द्र बनेको रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले आइतबार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सदरमुकाम भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाँणले उम्मेदवारी दर्ता गराएका हुन् । गत २०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गृहमन्त्री खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् ।
क्षेत्रीय सभापति सुशील गुरुङले आइतबार मध्यान्ह उम्मेदवारी दर्ता गरेको बताए । प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने भएपछि गृहमन्त्री खाण लामो समयदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा संलग्न हुँदै आएका थिए । सत्तारुढ गडबन्धनमा कांग्रेस, माओवादी, एकीकृत सामाजबादी, लोसपा, जनमोर्चा रहेका छन् । यस्तै, क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख)बाट काँग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।
२०७४ मा यो क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए । यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै विजयी भएका थिए ।

अहिले बोहरालाई एमालेको समर्थन छ भने खाँणलाई सत्ता गठबन्धनको समर्थन छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा काँग्रेस पहिलो र एमाले दोस्रो बनेका छन् । काँग्रेसले ३४ हजार १५३ मत पाउँदा एमालेले २९ हजार ४८ पाएको थियो । यस्तै, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए ।

उम्मेदवारी दर्ता पछि नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय