साउन ३१



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक फिर्ताका कारण जटिलता थपिएको जनाएको छ।
लोसपाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर नागरिकता विधेयक फिर्ताका कारण थप जटिलता थपिएको जनाएको हो।
‘नागरिकताको अभावमा लाखौँ नेपाली नागरिक राज्य विहिनताको अवस्थामा रहेको, उच्च शिक्षा हासिल गर्नेदेखि रोजीरोटीको समस्या, नोकरी, व्यापार–व्यवसायको समस्या, विदेश भ्रमण, वैदेशिक रोजगार, मतदान लगायतका दैनिक समस्यासमेतबाट दिनानुदिन सामना गर्नु परिरहेको अवस्थामा नागरिकता विधेयक राष्ट्रपतिज्यूबाट फिर्ता गरिएकोमा झन बढी जटिलता थपिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष महन्थ ठाकुरद्वारा विज्ञप्तिमा विधेयक फिर्ता हुँदा मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकमा चिन्ता र निराशा बढेको उल्लेख गरेका छन्।
‘नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिदैन,’ उनले भनेका छन्।
लोसपाले नागरिकता विधेयक अविलम्ब पारित गर्न पनि सरकारसँग माग गरेको छ।



