भारतीय विद्यार्थीको रोजाइमा बर्दिया को बढैयातालका विद्यालय

२०८१ बैशाख २६, बुधबार
पढ्ने समय : 2 मिनेट

बैशाख २६
भारत बहराइच जिल्लाको बलैगाउँका अभिषेक कुस्वा गाउँमा गुणस्तरीय शिक्षा नभएका कारण बढैयाताल गाउँपालिका–८, तिलकानास्थित बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टरमा अध्धयनका लागि आउने गरेका छन् । अंग्रेजी, प्राविधिक शिक्षा र शिक्षक पनि अनुभवी नभएकाले नेपालमा रहेको विद्यालयमा आउने गरेको उनी बताउँछन् ।

यहाँ हरेक विषयमा शिक्षक अनुभवी, शिक्षा गुणस्तर र विद्यार्थीहरु पनि अनुशासित भएकाले अध्ययनका लागि बढैयातालका विद्यालयल रोजाईमा पर्दे गएको कक्षा ८ मा अध्ययनरत कुस्वाले बताए । उनी जस्तै बलैगाउँका उमर खान पनि नेपालमा गुणस्तरीय शिक्षा भएको सुनेपछि गत वर्ष शैक्षिक सत्रमा अध्धयनका लागि आएको बताए । दर्जनौ विद्यार्थी विहानै ६ बजे अध्ययनका लागि बढैयाताल गाउँपालिका—८ तिलकानास्थित बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टरमा पुग्छन् ।

कक्षा १० मा अध्ययन गर्दे आएका भारतीय सीमावर्ती गाउँ बलैगाउँका कुस्वा घरबाटै खाना बोकेर अध्धयनका लागि आउँछन् । यहाँ नर्सरीदेखि कक्षा १० सम्म अध्धयनका लागि दर्जनौ विद्यार्थी आउँछन् । करिब ५ किमी दुरीमा रहेको बलैगाउँबाट आउँदा साइकल, पैदल र अभिभावकले पुराई दिने गरेको बताउँछन् । यस एकेडेमीमा भारतका १५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

उनीहरु नेपालको राष्ट्रिय गान सयौं थुंगा फूलका हामी‘.कण्ठ गरिसकेका छन् । भारतीय विद्यार्थीले आफ्नो देशको राष्ट्रगान जनमन अधिनायक‘गाउन बिर्सी सकेका छन् । भारतीय सीमापारी अध्धयनका लागि अंग्रेजी माध्यमका प्राविधिक विद्यालय नभएका कारण बर्दियाको बढैयाताल गन्तव्य बन्दै गएको छ । भारतको सिमावर्ती बहराइच जिल्लामा यहाँ जस्तो सुविधा सम्पन्न र गुणस्तरीया विद्यालय नभएको अभिभावक सुरेश कुस्वाले बताए ।

माध्यमिक तहको अध्ययन सस्तो र राम्रो भएका कारण यहाँ अध्ययनका लागि आएको कुस्वाले बताए । ‘उच्च शिक्षा भने भारतकै लखनउ पढाउने छु,’ ‘यसअघि छोराछोरी पनि यस विद्यालयबाट एसईईमा दुई वर्ष अघि राम्रो जिपीएसहित उत्तीर्ण भएर लखनउ अध्ययनका लागि गएका छन् ।’ उनका अनुसार त्यहाँ पनि वार्षिक परीक्षामा प्रथम र द्वितीय स्थान हासिल गरेका छन् ।

यहाँ निजी विद्यालयमा अध्ययन् गर्ने भारतीय विद्यार्थीका अभिभावक व्यापारी हुन् । सरकारी विद्यालयमा अध्ययन गर्ने अधिकांश मध्यम् आय भएका विद्यार्थी रहेका छन् । सीमापारी लागि सवारी साधन आउजाउमा एसएसबीले रोक लगाएको छ । रिसर्च सेन्टरका प्रबन्धक निर्देशक बुद्ध गिरीले एसएसबीले विद्यालयको सवारी साधनबाट विद्यार्थी बोक्न दिने भनेपछि अब केही दिनमा सञ्चालन गर्ने बताए । विद्यार्थी यहाँ आएर अध्ययन् गर्न चाहने धेरै भए पनि सवारी साधन नचल्दा आउजाउ गर्न समस्या भएकाले अब बस त्यहाँसम्म पुराउने लक्ष्य लिएको बताए ।

भारतीय सीमा बलैगाउँसम्म स्कूल बस सञ्चालन गरे २ सय देखि ३ सय विद्यार्थी यहाँका विद्यालयमा अध्ययनका लागि आउने सञ्चालक गिरीले बताए । करिब ७ बिघा क्षेत्रफलमा रहेको यस रिसर्च सेन्टरमा १ हजार २ सय बढी विद्यार्थी अध्ययन गर्छन् । अघिल्लो वर्ष एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर जिल्ला प्रथम भएको विद्यालयका प्रधानाध्यापक भोजराज बरालले बताए । भारतीय विद्यार्थी आयुष कुस्वाले नेपालमा राम्रो पढाई हुने गरेको बताए । हिन्दी भन्दा अंग्रेजीमा राम्रो दखल भएका कुस्वाले भने, ‘उच्च शिक्षाका लागि नेपाली सीमामा विद्यालय भएको भए हामी यही पढ्ने थियौ ।’

बर्दियाको बढैयाताल गाउँपालिका–८, तिलकानास्थित बर्दिया एकेडेमी एण्ड पोलिटेक्निकल रिसर्च सेन्टर । यहाँ भारतबाट विद्यार्थी पढ्न आउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय