चैत २२
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिहीबार दिउँसो भन्सार छलेर भित्र्याइएको ३ सय ५ बोरा केराउ बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका– ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेको जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार कपिलवस्तुको सुठौंली भन्सारबाट ४५ बोरा मकैको भन्सार गरेर त्यसमै ठूलो परिमाणमा केराउ भित्र्याइएको अनुसन्धानबाट खुलेको छ ।
मकै बोकेको भनिएको यूपी१५सीटी८१९८ नम्बरको ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यको ३ सय ५ बोरा केराउ बरामद भएको हो । ट्रकमा रहेको ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बोरा मकैको मात्र भन्सार गरिएको पाइएको छ । प्रहरीले बरामद मकै, केराउ र १८ लाख मूल्य बराबरको ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री भन्सार बुझाएको जनाएको छ ।



