भारतले भन्यो– सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई केही फरक पर्दैन

२०८० फाल्गुन २४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

फागुन २४

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।
‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । श्रीवास्तवले नेपाल–भारतबिच सम्बन्ध मौलिक रहेको चर्चा गरे । उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए ।
यसै बिच

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
श्रेष्ठलाई भेट्न श्रीवास्तव बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । उक्त अवसरमा दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउने तथा दुवैलाई फाइदा हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, उक्त अवसरमा नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतका विदेशमन्त्री एस. जयशंकरको सन्देशलाई पनि राजदूत श्रीवास्तवले प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय