पेट्रोलियम पदार्थ भए–नभएको पुष्टिको लागि ‘ड्रिलिङ’को काम हुँदै, चिनियाँ मेसिन नेपाल आउँदै

२०८० फाल्गुन १०, बिहीबार
पढ्ने समय : 3 मिनेट

फागुन १०

२०७६, असारबाट सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको यतिबेला अन्तिम चरणको काम भइरहेको छ । तीन वटा चरणमा सम्पन्न गर्ने भनिएको अन्वेषण अन्तर्गत अन्तिम चरणको काम धमाधम भइरहेको हो । अब हुने भनेको ‘ड्रिलिङ’को काम हो । यो भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो । अहिले त्यसका लागि आवश्यक तयारीको कामहरू भइरहेका छन् ।
भैरवी गाउँपालिका–१, जलजलेमा जग्गाको समस्या समाधान भएसँगै काम अघि बढेको छ । छनोटमा सबैभन्दा उपयुक्त स्थान मानिएको जलजलेका १५ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम सम्पन्न भइसकेको छ । प्रति रोपनी १ लाख ७५ हजारका दरले ९७ लाख रकम सरकारले मुआब्जा वितरण गरेको छ भने तीन वटा घरलाई क्रमशः ५–५ र ७ लाखका दरले रकम दिइएको हो । मुआब्जा वितरण पश्चात् ४७ रोपनी जमिन खानी तथा भूगर्भ विभागको नाममा आएसँगै उक्त स्थानमा ‘ड्रिलिङ’ कार्यका लागि चिनियाँ प्राविधिकको टोलीले क्याम्प निर्माण, मेसिन ल्याएर राख्ने ठाउँ सम्म्याउने, बाटो निर्माण लगायतका काम गरिरहेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी दिए । तयारीको पनि ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।
‘ड्रिलिङ’का लागि मेसिनहरू आएपछि उक्त काम सुरु हुन्छ । ‘ड्रिलिङ’ पहिलो चरणमा भएको ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’का आधारमा गरिन्छ । यो काम तीन चरणमध्येको सबैभन्दा कठिन र महत्वपुर्ण काम हो । जलजले श्रीस्थान र नाभिस्थानको थोरै उत्तरमा पर्छ । शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन भइरहेको हो । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । यो कामलाई अन्वेषणात्मक ‘ड्रिलिङ’ भनिन्छ । त्यसपछि मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।
आयोजना प्रमुख नापितका अनुसार ‘ड्रिलिङ’का लागि निकै ठुलो र महँगो चिनियाँ मेसिन चीनबाट हिँडिसकेको छ । भारतको कलकत्ता बन्दरगाह, नेपालगन्जको रुपैडिया नाका हुँदै मेसिन सुर्खेत आइपुग्ने छ । त्यसपछि कर्णाली राजमार्ग हुँदै दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साङ्गेतडा पु¥याइने छ । त्यो भनेको ‘ड्रिलिङ’ गर्ने स्थानभन्दा पश्चिम–दक्षिण कर्णाली नदी किनारको क्षेत्र हो ।
आयोजना प्रमुख नापितका अनुसार अहिलेसम्मको अध्ययनले उक्त स्थानमा पेट्रोलियम पदार्थ छ भन्ने दाबी गरिए पनि आधिकारिक पुष्टि भने भएको छैन । त्यो ‘ड्रिलिङ’ को काम भएपछि मात्रै पुष्टि हुन्छ । उनका अनुसार ‘ड्रिलिङ’बाट पुष्टि भएको खण्डमा उत्पादनमा लाने–नलाने सरकारको विषय रहन्छ ।
आयोजना प्रमुख नापितका अनुसार मेसिन अबको केही हप्तामै आइपुग्ने र जडान गरी काम सुरु हुनेछ । ‘ड्रिलिङ’ गर्न पनि विभिन्न चरणहरू रहेका छन्, सबै काम सम्पन्न हुन करिब ५ महिनाको समय लाग्ने उनी बताउँछन् । यद्यपि ‘ड्रिलिङ’ गर्दा विभिन्न समस्या आउने, केही टेक्निकल समस्या आएको खण्डमा केही ढिलाइ पनि हुन सक्छ । अर्को ‘ड्रिलिङ’ मेसिनको लागि तेल सप्लाईको समस्या हुन सक्ने देखिएको नापितले बताए । ‘मेसिन सञ्चालन गर्न ठुलो मात्रामा डिजेल आवश्यक पर्छ, सुर्खेतमै नेपालगन्ज भर पर्नुपर्ने रहेछ, ’उनले भने, ‘कुनै कारण मेसिन १–२ दिन मात्र रोकिएको खण्डमा काम रोकिनुपर्ने अवस्था आउँछ । त्यस कारण लक्ष्य भन्दा ढिलाइ हुनसक्छ भनेर १ वर्ष राखिएको छ ।’ उनका अनुसार जलजले र्याङ्किङमा सम्भावित पहिलो ठाउँ तोकिएको हो । यो सम्पन्न भयो भने दोस्रो र तेस्रोमा जाने–नजाने विषय सम्झौतामा अहिले छैन । यद्यपि जलजलेमा सक्सेस नभएपछि बाँकी दुई ठाउँमा पनि ‘ड्रिलिङ’ गर्न सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गर्नुपर्छ । पूर्ण रुपमा चिनियाँ बजेटमा काम भइरहेकाले अर्को ठाउँमा काम गर्नका लागि चिनियाँ टोलीसँग सरकारले नै सम्झौता गर्नुपर्ने नापित बताउँछन् ।

अहिले अन्वेषण क्षेत्रमा सोही टोलीका ५–५ जनाले काम गरिरहेका छन् भने बाँकी नेपाली गरी करिब २० जनाले काम गरिरहेका छन् । तीन चरणको गरे समर्गमा अन्वेषणको काम ७० प्रतिशत सकिएको छ भने ३० प्रतिशत मात्रै बाँकी छ ।
सम्झौता अनुसार चिनियाँ टोलीले अन्वेषणका लागि २ अर्ब सहयोगको घोषणा गरेको थियो । अहिले त्यही बजेटमा रही काम भइरहेको छ । घोषणा पश्चात् २०१७, अगस्ट २३ मा अर्थ मन्त्रालय र चीन सरकारबिच हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार चाइना जियोलोजिक सेन्टर, बेइजिङ र चेन्दुङका १० सदस्यीय चिनियाँ टोली नेपाल आएका थिए । सोही कार्यलाई निरन्तरता दिँदै तत्कालीन उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले ०७६ असारमा अन्वेषणको औपचारिक सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय