चीन प्रवेश गर्ने उत्तरी गोरखाको नाका खुलाउन माग

२०८० फाल्गुन ७, सोमबार
पढ्ने समय : 2 मिनेट

फागुन ७

कोभिडको बेला बन्द भएको उत्तरी गोरखाका दुई नाका खुलाउन चुमनुव्री गाउँपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै चीन प्रवेश गर्ने छेकम्पारतर्फको ङुइला भञ्ज्याङ र सामागाउँको रुइला भञ्ज्याङ नाका खुला गर्न चीन सरकारसँग कूटनीतिक माध्यमबाट पहल गरिदिन माग राखेका हुन् ।

उत्तरी गोरखाको नाका खुलाउन माग
गत पुस ११ गतेको कार्यपालिका बैठकमा संघीय सरकारसँग विविध योजना, कार्यक्रम, माग गर्ने निर्णय भएबमोजिम आइतबार प्रधानमन्त्रीलाई भेट्न पुगेका जनप्रतिनिधिले १८ बुँदे मागपत्र पेस गरेका छन् ।
कोभिड जोखिमका कारण चार वर्षअघि बन्द भएको नाका अझै खुलेको छैन । नाका खुल्दा सीमा क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामाग्री खरिदका लागि तिब्बतको बजार पुग्थे । त्यस्तै चुमनुव्री गाउँपालिकालाई नेपालको संविधानबमोजिम विशेष क्षेत्र घोषणा गर्न पनि प्रधानमन्त्रीसमक्ष जनप्रतिनिधिले माग राखेका छन् । विगतमा निषेधित क्षेत्र घोषणा गरिएको चुमनुव्रीका विविध स्थानलाई खुला गर्नका लागि सहजीकरणको माग पनि गरिएको छ ।

मनास्लु संरक्षण क्षेत्रमा हालको पर्यटकीय पदमार्ग खण्डमा सडक निर्माण भइरहेकाले वैकल्पिक पर्यटकीय पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता देखिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । पाती–आँगासर्स्यू–ल्होक्पा–सिपचेत–धुम्जे–गुम्बालोङङाङ हुँदै गणेश हिमाल बेसक्याप पुग्ने तथा गाला हुँदै छेकम्पार पुग्ने पर्यटकीय पदमार्ग निर्माणका लागि आवश्यक व्यवस्था गर्न माग गरिएको उनले बताए ।

देवल गाउँका ७६ तथा ल्होक्पा गाउँका २५ घरधुरी पहिरोको जोखिममा रहेको हुँदा बस्ती स्थानान्तरणको पनि माग गरिएको छ । तत्काल भूगर्भविद्बाट स्थलगत अध्ययन गरी पहिरो नियन्त्रण कार्यक्रमका लागि आवश्यक व्यवस्था गर्न माग गरिएको लामाले बताए । ‘बर्सेनि बुढीगण्डकी नदीले बस्ती कटान गर्ने समस्या समाधानका लागि पनि पहिरो नियन्त्रण गर्न बुढीगण्डकी नदी संरक्षण परियोजना सञ्चालनका लागि माग गरेका छौं,’ लामाले भने ।
सिर्दिवास, न्याक फेदी, चुम्चेत हुँदै छेकम्पार, ङुइला भञ्ज्याङ मोटर बाटो निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । यहाँको ट्र्याक खोल्नुपर्ने देखिएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित खोल्ने काम नेपाली सेनामार्फत गर्दा सहज तथा उपयुक्त हुने गाउँपालिकाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै बेनिघाट–रुइला भञ्ज्याङ मोटरबाटो निर्माणलाई क्रमागत रूपमा बजेटमा प्राथमिकता दिन पनि माग गरेको गाउँपालिका अध्यक्ष लामाले बताए । चुमनुव्री–२ सामागाउँ र वडा नम्वर २ ल्होस्थित स्यालमा अव्यवस्थित बसोबासीका लागि जग्गा वितरणका लागि मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने हुनाले वन ऐन संशोधन गरी आवश्यक कानुनी व्यवस्थाको पनि माग गरिएको उनले बताए ।

चुमनुव्री–७ छेकम्पारस्थित छुलेनिले, वडा नम्वर ६ को चुम्चेत, वडा नम्वर ३ को जगत, वडा नम्बर २ को ल्हो र वडा नम्वर १ सामागाउँमा हालसम्म सञ्चार तथा मोबाइल नेटवर्कको पहुँच नभएकाले सञ्चारको सर्वसुलभ पहुँचका लागि प्राविधिक टोली खटाइ अध्ययन गरेर फोरजी टावर तथा सव टावर निर्माणको व्यवस्था मिलाइदिन पनि माग गरिएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय भवनमा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, गाउँपालिकाको केन्द्र जोड्नका लागि बुढीगण्डकी नदीमा मोटरेबल पुल निर्माण, सामुदायिक विद्यालयका लागि हिमाली आवासीय छात्रावास अन्तर्गत १५० कोटा थप, कक्षा १० सम्म मात्र पठनपाठन हुने भएकाले प्राविधिक शिक्षासहितको उच्च शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउन तथा प्रहरी चौकी सिर्दिवासलाई स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय स्थापनाका लागि पनि माग गरिएको छ ।

कृषिजन्य उत्पादन एवं जडीबुटीको उच्च सम्भावना रहेकाले चिस्यान भण्डार तथा प्रशोधन केन्द्र स्थापना, माथिल्लो बुढीगण्डकी विद्युत् उत्पादनका लागि २२०÷४०० केभीए प्रसारण लाइन तथा सवस्टेसन निर्माण योजना अघि बढाउन पनि चुमनुव्रीका जनप्रतिनिधिले माग गरेका छन् । राष्ट्रिय तथ्यांक अनुसार गाउँपालिकामा साक्षरता स्तर कम तथा गरिबीको रेखामुनि रहेको जनसंख्या धेरै रहेकाले साक्षरता प्रवर्द्धन एवं गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिन पनि माग गरिएको छ ।

प्रधानमन्त्री दाहालले चुमनुव्री गाउँपालिकाका जनप्रतिनिधिले राखेको मागप्रति आफू सकारात्मक रहेको बताएका थिए । ‘नाका खुलाउन पहल भइरहेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हिमालपारिको गाउँपालिका चुमनुव्रीलाई विकासमा प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय