खुला सीमा बन्द गर्नुपर्ने सांसदको माग, गृहमन्त्रीको जवाफ– त्यो स्थिति छैन

२०८० माघ २९, सोमबार
पढ्ने समय : 3 मिनेट

माघ २९

सांसदहरुले नेपाल–भारत खुला सीमाका कारण राष्ट्रिय सुरक्षामै असर गरेको भन्दै बन्द गर्न माग गरेका छन् ।

खुला सीमाकै कारण मानव तस्करी, लागू पदार्थ ओसारपसार निरन्तर भइरहेको, रोहिङ्ग्या लगायतका शरणार्थी समूह नेपाल आएको र पछिल्लो समय नेपालीहरु रुस र युक्रेन युद्धमा पुगेको उनीहरुले बताएका छन् ।
जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने खुला सीमा बन्द गर्ने निर्णय तत्काल गर्न नसक्ने बताएका छन् ।आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको कुटाकुटबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो । छलफलका क्रममा सांसदहरुले खुला सीमाको विषय पनि उठाएका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले खुला सीमाका कारण भएका समस्याहरु सुनाए । ‘नेपालभित्र जो आएर बसे पनि हुने जस्तो छ’, उनले भने, ‘रोहिङ्ग्या शरणार्थीहरुलाई एउटा गिरोहले नेपाल ल्याउँछ । उनीहरु पनौतीमा बसेका छन् ।’

खुला सीमाकै कारण विदेशबाट समलिंगी तेस्रो लिंगीहरु समेत नेपालमा आएर दुःख दिइरहेको उनले बताए । ‘पत्यार लाग्दैन भने न्यूरोड जानुहोस’ उनले अगाडि भने, ‘उनीहरुले पाखुरा समातेर, ब्याग खोल्न लगाएर बलजफ्ती असुल गरिरहेका छन् ।’
नेपाल–भारत खुला सीमाकै कारण माग्न समेत नेपाल आएको भन्दै एमाले सांसद पन्तले भने, ‘स्वयम्भुमा माग्नेहरुको तीन पुस्ता देखाइदिन्छु । हजुबुबा हजुरआमा, छोरा, बुहारी र नाति नातिना समेत माग्न बसेको हुन्छ ।’

नेपालबाट भएका महिला तस्करीमा समेत खुला सीमाको प्रयोग भएको भन्दै उनले भने, ‘जो आएर जे गरे पनि हुने हो ? अब बोर्डर खुला राख्नु हुँदैन ।’

सन् १९५० को सन्धि विपरीत भारतले एकतर्फी रुपमा नेपालीहरुसँग परिचयपत्र माग्ने गरेको भन्दै उनले गम्भीर रुपमा निर्णय लिन सरकारलाई आग्रह गरे । भारतले चाहेको बेला कडाइ गर्ने गरेको भन्दै उनले भने, ‘हामीले चाहिँ किन नगर्ने ?’

राप्रपाका सांसद बुद्धिमान तामाङले पनि खुला सीमाको फाइदा उठाएर नेपालमा तेस्रो लिंगीहरु आएको र नेपालीहरुलाई दुःख दिइरहेको गुनासो गरे ।
उनले रोहिङ्ग्याहरु कपन एरियामा समेत रहेको बताए । उनले प्रश्न गरे, ‘त्यस एरियामा को आएर बसिरहेको छ भन्ने नेपाल सरकारको जानकारीमा छ कि छैन ?’

उत्तरी (चीन) सीमाबाट समेत अवैध रुपमा विदेशीहरु नेपाल भित्रिरहेको बताए । तर अनुहार लगायतका कारण उनीहरुलाई सहजै चिनिने गरेको तामाङले सुनाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल अवैध कारोबारको हब बन्दै गएको बताए । सीमा नियन्त्रित नभए अवैध कारोबार अझ बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत असर पार्ने उनको बुझाइ छ ।

नेपालमा अवैध कारोबार मौलाए छिमेकी मुलुकहरु प्रभावित हुनसक्ने र त्यसलाई देखाएर नेपालसँगको सम्बन्धमा थप आशंका गर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।

‘जुनसुकै कोणबाट हेर्दा पनि खुला सीमा नेपालको सन्दर्भमा कमजोरी बन्दैछ । यसलाई तत्काल नियन्त्रित गर्नुपर्ने देखिन्छ’ उनले भने, ‘केही नभएपछि नेपाल र भारत आवत जावत गर्नेहरुको रेकर्ड राखौं ।’

एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारितामा जोड दिए । सीमा, विमानस्थल, भिसा लगायतलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षा नीति बन्नुपर्ने उनले बताए ।

त्यस्तो नीति सँगसँगै सीमा क्षेत्रमा पर्याप्त चेकजाँच केन्द्र बनाउनुपर्नेमा उनको जोड छ । एमाले उपमहासचिव गुरुङले भने, ‘एउटा स्पष्ट नीतिका साथ अगाडि बढ्ने र पर्याप्त चेक प्वाइन्टहरु सीमा क्षेत्रमा राख्ने हो भने धेरै समस्याहरु हल हुन्छन् ।’

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सीमामा समस्या रहेको स्वीकार गरे । तर, सांसदहरुले भने माग गरेजस्तो तत्काल नेपाल भारत खुला सीमा बन्द गर्ने निर्णयमा सरकार पुग्न नसक्ने जवाफ दिए ।

नेपाल भारत सीमा खुला सीमा बन्द गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको भएपनि कुनै पनि सरकारले निर्णय गर्न सक्ने अवस्था नभएको उनले बताए । ‘हामीमध्ये ककसले कतिबेला के–के भन्यो हौला, तर सरकारको तर्फबाट म नेपाल र भारतको बोर्डर क्लोज गरिन्छ भन्ने स्थितिमा छैन ।’

तर खुला सीमाका कारण भएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएको उनको दाबी छ । साथै भारतीय पक्षले नेपालीहरुसँग परिचयपत्र माग गरेको विषयमा परराष्ट्र मन्त्रालयसँग समेत संयुक्त छलफल भएको उनले जानकारी दिए ।

‘ओपन हुनुको अर्थ नियन्त्रणमा ध्यान नदिने भन्ने होइन । यसको निम्ति कूटनीतिक ढंगबाट कुरा गर्नुपर्छ । हामी कुरा गरिरहेका छौं’, गृहमन्त्री श्रेष्ठले भने, ‘उहाँहरुले हाम्रा नागरिकको परिचयपत्र माग्नुहुन्छ भने हामीले किन नमाग्ने ?’

तर सरकारले एकपक्षीय निर्णय नगर्ने उनले बताए । कूटनीतिक सम्वादबाटै सीमा समस्याको सम्बन्धमा निष्कर्षमा पुग्न निरन्तर पहल गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय