चीन सरकारले दिएको स्क्यानर मेसिन मालवाहक कन्टेनर, साना सवारीसाधन र व्यक्तिको लगेज जाँच गर्न प्रयोग गरिने

२०८० माघ २३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

माघ २३,
चीन सरकारले सीमा क्षेत्रको सवारीसाधन र लगेज जाँचका लागि आवश्यक स्क्यानर मेसिनसहित ६२ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

स्क्यानर मेसिन मालवाहक कन्टेनर, साना सवारीसाधन र व्यक्तिको लगेज जाँच गर्न प्रयोग गरिने
तातोपानी भन्सार परिसरमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सुलर सी यू, तिब्बतको नेलाम जिल्लास्थित अध्यागमन विभागका प्रमुखसहितका चिनियाँ अधिकारीले भन्सार विभागका उपमहानिर्देशक रमेश अर्याललाई सामग्री हस्तान्तरण गरे । तातोपानीको लार्चा सुक्खा बन्दरगाहमा राख्ने गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो । बन्दरगाहको आधुनिक भवन तथा भन्सार यार्ड भने ०७६ सालमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।

 

स्क्यानर मेसिन मालवाहक कन्टेनर, साना सवारीसाधन र व्यक्तिको लगेज जाँच गर्न प्रयोग गरिने तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले जनाए । सवारीसाधन स्क्यान गर्ने मेसिन गुडाएर अन्यत्र लैजान सकिने प्रकृतिको छ ।

लगेज जाँच गर्ने मेसिन पनि आधुनिक मोडलको छ । उक्त मेसिनले सीमाबाट आउजाउ गर्ने सवारी र व्यक्तिगत लगेज जाँचमा सहयोग पुग्ने काफ्लेले बताए । तातोपानी नाकाबाट सुन भित्रने गरेको छ । साथै विगतमा लागूऔषध खासातर्फ गएका घटना भएका छन । त्यसको नियन्त्रणमा पनि मेसिन सहयोगी हुन सक्ने भन्सार अधिकारीहरूको भनाइ छ ।

मेसिन सञ्चालन गर्न नेपाली भन्सारका कर्मचारीलाई चिनियाँ प्राविधिकले प्रशिक्षण दिनेछन । मितेरी पुलपारि चिनियाँ भूभागको प्रवेशद्वारमा जडान गरेको स्क्यानर जस्तै मेसिन नेपालको भन्सारलाई उपलब्ध गराइएको हो ।

चीनले नेपालसँग भएका हरेक बैठकमा सीमा सुरक्षा र अवैध वस्तुको ओसापसारको विषय प्राथमिकतासाथ उठाउने गरेको छ । बन्दरगाहमा राख्न चीनले रेफ्रिजेरेटर, फर्निचर, टेलिभिजन, कम्प्युटर, बेडलगायत कार्यालय तथा व्यक्तिगत रूपमा प्रयोग हुने सामग्री पनि उपलब्ध गराएको छ ।

आफैंले बनाएको सुक्खा बन्दरगाहलाई आधुनिकीकरण गर्ने योजनाअनुरूप चीनले उक्त सामग्री हस्तान्तरण गरेको जनाइएको छ । कोभिड र बाढीपहिरोका कारण सामान उपलब्ध गराउन ढिलाइ भएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय