जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलासा, भइन् डिपोर्ट

२०८० माघ १७, बुधबार
पढ्ने समय : 2 मिनेट

माघ १७

जाजरकोटमा राहत विवरण सम्बन्धमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) गरेको छ ।
अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना समेत गरेर छाडेको पुष्टि भएको छ । गत मंसिर २८ गते अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गृह मन्त्रालयलाई पत्राचार गर्दै सोउ सिच्याङ भिसा अवधिभन्दा बढी नेपाल बसेको पाइएकाले अध्यागमन ऐन, २०४० को दफा १० (४) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेका थिए । सोही ऐनको दफा ९ (१) र ९ (१क) ले गरेको व्यवस्था तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६ (३) देहायको २ (१० ) बमोजिम उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नको लागि समेत निर्णयार्थ पेस गरेका थिए ।
सोहीअनुसार गृह मन्त्रालयले निष्काशनसम्बन्धी निर्णय गरेको थियो । मन्त्रालयकी शाखा अधिकृत रिनु थपलियाले अध्यागमनलाई पुस २ मा पठाएको पत्रमा भनिएको छ, ‘त्यहाँ विभागको चलानी नम्बर ७९२ मिति २०८०।०८।२८ को पत्र साथ प्राप्त फाइल अनुसार भिसा नियमित नगरी ओभरस्टे भएका देहायका विदेशी नागरिकलाई अध्यागमन ऐन, २०४९ को दफा ९ तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६.३(२) देहायको (१०) बमोजिम यस भिसा वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न २०८०।०९।०२ मा (नि. सचिवस्तरीय) निर्णय भएकोले उक्त निर्णयको सक्कलै फाइल आवश्यक कार्यार्थ फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।’

गत मंसिर २० मा ती चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।
जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएको उनीमाथि कुटपिट भएको उजुरीपछि माओवादीको स्थायी कमिटी बैठकले नै उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका नेताहरूका अनुसार आठबीसकोट नगरपालिका पूर्व मेयरसमेत रहेका केसीको समूहले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्ना बजारमा चिनियाँ महिलामाथि हातपात गरेको आरोप छ ।

उक्त प्रकरणमा केसीले पार्टीलाई स्पष्टीकरण बुझाइसकेका छन् भने उनले उल्टै पार्टीका महासचिव देव गुरुङनै यो प्रकरणको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय