विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ ः नेता कोइराला

२०८० माघ १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

माघ १४

कांग्रेस नेता शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका हुन् ।

उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेकोसमेत बताए ।
‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाईहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ । नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ,’ नेता कोइरालाले भने ।

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय