पुस १७
चीन सरकारले निःशुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिएको छ ।
समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।
बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ । खोपको म्याद पुस ७ गतेसम्म थियो । अब खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम प्राविधिक कारणले गर्दा खोप प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
‘खोप सल्लाहकार समितिले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भनेर सिफारिस ग¥यो’, डा. गौतमले भने, ‘तर हामीले पहिलो, दोस्रो डोजको रुपमा पनि सिनोभ्याक खोप सञ्चालन गर्न सकेनौं ।’



तत्कालिन समयमा विज्ञले सिनोभ्याक खोप नलिनका लागि सुझाव दिएका थिए । तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीन सरकारको दबाबकै कारण उक्त खोप ल्याउन बाध्य भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।
योजनाविहीन अवस्थामा ४० लाख खोप नेपालले किन लियो भन्ने प्रश्नमा आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसिया तत्कालीन समयमा खोपको माग अत्याधिक भएका कारण लिनुपरेको तर्क गर्छन् ।
‘सरकारको राजनीतिक तहमा कुरा भएर खोप आएको हो । त्यसबेला अत्याधिक खोप माग थियो’ डा. चौरसिया भन्छन्, ‘तत्कालीन समयमा सिनोभ्याक खोप बुस्टर रुपमा लगाउन नमिल्ने भन्ने थिएन ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले त्यसबेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएको थियो । डब्लुएचओले सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको थियो।
तत्कालीन समयमा अधिकांश मानिसले खोपको विश्वसनीयतालाई हेरी मोडेर्ना, कोभिसिल्ड तथा फाइजर खोप लगाएका थिए । ‘त्यसबेला अधिकांश मानिसको रोजाइ कोभिसिल्ड तथा फाइजर बन्यो । त्यसकारण पनि सिनोभ्याक खोपलाई सञ्चालन गर्न सकिएन’, डा. चौरसियाले भने ।



