भैरहवा बैशाख १०
नेपाल–भारत सीमावर्ती नाका बेलहियामा भारतीय पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने भारतीय नागरिक सहित तीनजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमामा हुने अवाञ्छित गतिविधि र पर्यटकमाथि हुने तानातान रोक्ने अभियान अन्तर्गत रुपन्देही प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दुईजना नेपाली र एकजना भारतीय नागरिक छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २६ वर्षीय निरज हरिजन र ३२ वर्षीय बैजु कलवार र भारतको महाराजगंज जिल्लास्थित सुनौली बस्ने २७ वर्षीय मुलायम यादव छन् ।
बेलहिया नाकामा वर्षौंदेखि सक्रिय बिचौलियाहरूले भारतीय पर्यटक तथा यात्रीहरूलाई सीमा पार गर्ने बित्तिकै घेर्ने र तानातान गर्ने गरेको गुनासो बारम्बार आउने गर्ने गर्छ ।
सिमा नाकामा रहने बिचौलियाले कमिशनको लोभमा यात्रीहरूलाई उनीहरूको इच्छाविपरीत आफू अनुकूलका बस तथा निजी गाडीमा चढ्न बाध्य पार्ने, कमिशन आउने होटलहरूका लागि जबरजस्ती ग्राहक तान्ने, विदेशी पैसा साटिदिने बहानामा पर्यटकलाई अलमल्याउने र हैरानी दिने, भन्सार सहजिकरण गर्ने लगायतका काम गरिदिने भन्दै यात्रुलाई दबाब दिने गरेको भनाइ प्रहरीको छ ।
नेपालको प्रमुख प्रवेशद्वार मानिने बेलहिया नाकामा बिचौलियाहरूको यात्रु तानातानले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने गरेको छ भने स्वदेशी र बिदेशी यात्रुलाई झन्झट र असुरक्षाको महसुस गराउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कडा निगरानी राखिएको र पर्यटकलाई निर्बाध रूपमा यात्रा गर्ने वातावरण मिलाउन प्रहरी प्रतिबद्ध रहेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई अहिले हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको रुपन्देही एसपी जनकबहादुर शाहीले बताए ।






