कार्तिक १८
सवारीसाधनका पार्टपुर्जामा लुकाएर नेपालमा सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता रद्द गरिएको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले छिरिङको नागरिकता रद्द गरेको हो ।
उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेबाट नेपाली नागरिकता लिएका थिए । उनले २० पुस २०७४ मा काभ्रेको नमोबुद्ध नगरपालिका ठेगाना राखेर निमा लामाको नाममा नेपाली नागरिकता बनाएका थिए । तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । छानबिनमा उनले झुटा विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएकाले रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।



नेपाली महिलासँग बिहे गरी छिरिङ लामो समयदेखि नेपालमा बस्दै आएका छन।ठमेलमा उनको होटेल छ । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन।
छिरिङसँगै पक्राउ परेका अन्य तीन चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ ।
सुन तस्करी मुद्दाको अनुसन्धान पूरा भएपछि नागरिकताको विषयमा पनि छानबिन सुरु भएको छ । यस विषयमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता नवराज अधिकारीले बताए ।
अन्य चिनियाँहरू सेग फा डिङ, वेन–ती सुङ ली र नेनकाल लीको पनि नेपाली नागरिकता भेटिएको छ । डिङले राम लामाको नाममा, वेन–तीले छिरिङ लामाको नाममा तथा नेनकालले सोनाम लामाको नाममा नागरिकता लिएका थिए । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ ।
साथै, यो प्रकरणमा जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ । चारैजना चिनियाँलाई जिल्ला अदालत काभ्रेले नागरिकतासम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिसकेको छ । नागरिकता दिलाउन सघाउने अन्य व्यक्तिमाथि भने अनुसन्धान सुरु भइसकेको छैन । चिनियाँहरूको बयानपछि यसमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
‘नेपाली नागरिकता लिने चिनियाँलाई बयानमा बोलाउने तयारीमा छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘थप व्यक्तिको संलग्नता खुलेमा त्यसपछि अनुसन्धान हुन्छ ।’ चिनियाँहरूले पैसा खर्च गरेर नेपाली नागरिकता र पासपोर्ट बनाएको यसअघि सिआइबीमा बयान दिइसकेका छन । यसरी नागरिकता दिलाउँदा जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाइएको सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जस आधारमा कर्मचारीसमेत अनुसन्धानमा तानिने सम्भावना छ ।
गत २ साउनमा राजस्व अनुसन्धान विभागले ६१ केजी सुन बरामद भएपछि यसमा चिनियाँ गिरोहको संलग्नता खुलेको हो । पछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संगठित अपराध मुद्दामा अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । तस्करीमा नेपालमा प्रभावशाली व्यक्तिसमेतको संलग्नताको आकलन गरिए पनि पहिलो चरणको अनुसन्धानमा भने त्यो खुल्न सकेन । सिआइबीले दोस्रो चरणमा अनुसन्धान गर्ने भने पनि तीव्रता पाउन सकेको छैन ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । नेपाल प्रहरीका पूर्वएआइजी सहकुल थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगले विज्ञ तथा अनुसन्धानमा आबद्ध प्रहरीसँग छलफल गरिरहेको छ । यसमा जोडिएका थप व्यक्तिलाई पनि सोधपुछमा बोलाइने र स्थलगत निरीक्षणको तयारी भइरहेको आयोगका एक पदाधिकारीले बताए । आयोगले सुन तस्करीसम्बन्धी पुराना छानबिन प्रतिवेदन, फैसलाहरू तथा हालैको अनुसन्धानमा प्रतिवेदन पनि झिकाएर अध्ययन गरिरहेको छ ।
आयोगका अध्यक्ष आचार्यले पहिलो चरणमा विज्ञहरूसँग छलफल र प्रतिवेदनहरूको अध्ययन हुने र त्यसपछि यसमा संलग्न व्यक्तिहरूमाथि सोधपुछ गरिने बताए । ‘अहिले हामी अभियोजनविज्ञ, राजस्वविज्ञदेखि सुन–चाँदी व्यवसायी, कानुनविद्हरूसँग यस विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘प्रतिवेदनहरू पनि मगाएका छौँ, त्यसपछि दोस्रो चरणमा सोधपुछको काम हुन्छ ।’



