७ वर्ष मा बने को गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनिया निर्माण कम्पनी को ढिलाई कहिले हुन्छ उडान?

२०७८ माघ १८, मंगलवार
पढ्ने समय : 3 मिनेट

 

माघ १८
भैरहवा
राष्ट्रिय गौरवको आयोजना रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७ वर्षमा लगभग पूरा भएको छ।

निर्माण शुरु भएको ३ वर्षमा पूरा गर्ने भनिए पनि आयोजना निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ले नाकाबन्दी र कोभिड १९ को कारण पटक पटक म्याद थपेर विमानस्थल ७ वर्षमा पूरा हुने चरणमा आइपुगेको हो।

विमानस्थल मा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र बाँकी रहेका केही प्राविधिक काम सम्पन्न हुनेबित्तिकै विमानस्थलको उद्घाटन गर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

प्राधिकरण ले प्राविधिक काम सकिएलगत्तै परीक्षण उडान गर्ने र आउँदो बुद्ध पूर्णिमामा विमानस्थल उद्घाटन गर्न तयारी गरेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले जानकारी दिए।

‘विभिन्न कारणले रोकिएका काम अहिले द्रुत गतिमा भइरहेका छन्। क्यालिव्रेसन फ्लाइटको चरणमा पुगिसकेका छैनौं, त्यसअघि केही उपकरणहरुको परीक्षण जारी छ’, उनले भने, ‘बाँकी रहेका सबै काम सकेर बुद्ध पूर्णिमाका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने लक्ष्य राखिएको छ।’

विमानस्थलमा अहिले ग्राउण्ड चेकजाँच र परीक्षण उडानको लागि तयारी गर्ने काम शुरु भएको छ। सो कामको पर्यटनमन्त्री प्रेम आलेसहितको टोलीले अवलोकन तथा अनुगमन गरिसकेको छ। विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु भनिएको यो कामको ठेक्का थाइल्याण्डको एरोथाइ कम्पनीले लिएको छ। आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण मा पर्छ ।

जसका लागि थाइल्याण्ड बाट ४ जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ। फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबीटुका प्रमुख तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीन न्यौपानेले जानकारी दिए। उनका अनुसार प्राविधिक जडानका काम सकिएपछि ग्राउण्ड टेष्टको काम शुरु भएको छ र यो काम सकिएलगत्तै जहाज ल्याएर परीक्षण उडान गरिनेछ।

अन्तिम रिपोर्ट आएपछि अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण आइकाओको नियम अनुसार उडानको लागि तयार छौं भनेर एरोनोटिकल इन्फरमेसन प्लान एआइपीमा प्रकाशित गर्नुपर्छ’, उनले भने, ‘त्यसमा विश्वव्यापी रुपमा थाहा हुने गरी हाम्रो विमानस्थलको अवस्था के छ, कत्रा जहाज आउन सक्छन्, कुन रुटमा जान सकिन्छ भन्ने हुन्छ।’
‘फागुनको अन्तिम सम्म परीक्षण उडान गरियो भने चैत्र र बैशाख २ महिनामा अरु प्रक्रिया सकिन्छ’, उनले भने, ‘जेठ २ गते व्यवसायिक उडान सुरु गर्न सक्यौं भने त्यो हाम्रो लागि ठूलो उपलब्धि हुनेछ। बुद्ध पूर्णिमाको दिन विश्वव्यापी रुपमा सन्देश पनि राम्रो जान्छ।’

जेठ २ गते बुद्ध जयन्तीका दिनबाट नियमित उडान गर्ने गरी काम भइरहेको न्यौपानेले बताए।

उडान तयारीको लागि नेपाली प्राविधिकहरुको तालिम चलिरहेको छ। १२ जना इन्जिनियरहरु तालिममा सहभागी छन्। परीक्षण उडानको तयारीको लागि अहिले भैरहवामा थाइल्याण्ड र अष्ट्रियन प्राविधक टोलीले काम गरिरहेका छन्। परीक्षण उडानअघि थप अष्ट्रियन र अमेरिकाका प्राविधिक टोली पनि आउने न्यौपानेले बताए।

६० मिटर चौडाइ र ३ किलोमिटर धावनमार्ग, १९ सय मिटरको ट्याक्सीवे रहेको यो विमानस्थलमा ५ वटा वाइड बडी जहाज पार्किङ गर्न सकिनेछ। अहिलेको टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको रहेको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ।

नर्थवेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। तर समयमै निर्माण कार्य सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरेर सातपटक म्याद थप गरेको छ। २०७२ को भूकम्प र मधेस आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुँदा निर्माणको म्याद सरेको थियो।

त्यसैगरी विमानस्थल निर्माण गर्ने क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउँदा पनि निर्माण कार्य प्रभावित भएको दाबी आयोजनाले गरेको थियो। लामो समय विमानस्थल निर्माण कम्पनी नर्थ वेष्ट र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित भएको थियो।

विमानस्थल आइसिपी–१ र आइसिपी–२ गरी दुई चरणमा निर्माण भएको छ। आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सीवे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन्। आइसिपी–२अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ।

६ अर्ब २२ करोडको लागतमा सुरु भएको विमानस्थलको बजेट आठ अर्ब ८२ करोड पुगेको छ। २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो। विमानस्थल निर्माणका लागि करिब २३ अर्ब रकम मुआब्जा वितरण गरिएको थियो।

२०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय