सिद्धार्थनगरमा निःशुल्क जैविक सार्वजनिक शौचालय सचालन

२०७९ कार्तिक ३, बिहीबार
पढ्ने समय : 2 मिनेट

कार्तिक ३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेपछि शौचालय संचालनमा आएको हो ।

बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय संचालनको सुरुवात गरेका हुन् । नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय संचालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहने विश्वास व्यक्त गरे ।

उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाका साथै सरोकारवालाहरुले पनि ध्यान दिन आग्रह गरे । ‘शौचालय संचालनमा आएको छ, यस भित्रको कमी कमजोरी हामी पुरा गर्दै जान्छौँ’, उनले भने, ‘यो हामी सबैको सम्पत्ति हो, यसको सुरक्षा र संरक्षण गर्ने हामी सबैको दायित्व पनि हो ।’

सार्वजनिक शौचालयलाई आफ्नै घरको शौचालय सरह सम्झिनु पर्ने उनको भनाई थियो । उनले शौचालय संचालनले मात्रै नभई कर्मचारी र जनप्रतिनिधिहरुलाई शौचालयको प्रयोग गरेर यसको अनुगमन तथा निरीक्षण समेत गरेर देखिने समस्या समयमै समाधान गर्न निर्देशन दिए ।

नगरको बुद्धचोकमा दुई वटा, सिद्धार्थ राजमार्गदेखि आवारोड जाने मार्ग, देवकोटा चोक, आँखा अस्पताल क्षेत्र र पर्यटकीय गेट (डण्डा) मा एक–एक वटा गरी ६ वटा जैविक सार्वजनिक शौचालय संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । यी शौचालयहरु उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।
उनका अनुसार नगरपालिका कार्यालयको ८५ र उपभोक्ता समितिको १५ प्रतिशत लगानीमा शौचालय निर्माण सम्पन्न भएको हो । कुल ३८ लाख बढी मा शौचालय निर्माण भएको हो । संचालनमा आएको शौचालय आधुनिक किसिमको सुविधा सम्पन्न छ । शौचालयमा २ हजार लिटरको जैविक डाइजेस्टर सेफ्टी ट्यांकी बनाइएको छ । उक्त ट्यांकीमा एनिरोबिक नामक जीवाणु झोल पदार्थ बनाएर ६ सय ६० लिटर राखिएको छ ।

ट्यांकीको आयु लम्ब्याउनका लागि उक्त जीवाणु राखिएको नगरपालिका कार्यालयको योजना महाशाखा प्रमुख जीवन अर्यालले बताए । शौचालय माथि २ सय ८० लिटरको पानी ट्यांकी समेत हुनेछ भने पानी सोस्नका लागि सोककिटको समेत व्यवस्थापन गरिएको छ । बेसन, फ्लस, विजुली, धारा सहित सुविधा सम्पन्न शौचालय निर्माणले नगरवासी, पर्यटक लगायत लभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय