असोज ३१
– गृहमन्त्री बालकृष्ण खाँणले पटक–पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन उचित नहुने बताएका छन् । उनले त्यस्तालाई संसदमा पठाउँदा मुलुकमा शान्ति खलबलिने र अस्थिरता सिर्जना हुने जिकिर गरे । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका काँग्रेस केन्द्रिय सदस्य खाँणले मायादेवी गाउँपालिका–८ मा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै अब प्रतिगमन पक्षधरहरुलाई मतदाताले चिन्नुपर्ने बताए ।
उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो भनेका हुन् । गृहमन्त्री खाँणले भने, ‘हात जोडेर हामीलाई मत दिनुस् भन्दै आउन संसद विघटन पक्षधरलाई कुनै हिच्किचाहट छैन, आफैले प्रहार गरेको संसदमा फेरि पठाउनुस् भनेर मतदातामा कसरी जानसक्नेभए होलान ?’ उनले यस्ता नेता भएको विपक्षी गठबन्धनलाई जिताएर पठाए फेरि संसद भंग गर्नसक्ने भन्दै मतदाता सचेत हुनुपर्ने जनाए ।



‘उहाँ (ओली)ले कस्ता दलसित गठबन्धन गर्नुहुन्छ, हामीलाई थाहै छ’, उनले भने, ‘राजसंस्थाको वकालत गर्नेसँग गठजोड गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । उहाँले मुलुकमा शान्ति खल्बल्याउने र अस्थिरता ल्याउने मात्रै काम गर्नुभएको छ ।’ उनले पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक भएको तर अर्को गठबन्धन प्रतिगमनकारी भएको आरोप लगाए।
गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा, विकास र समृद्धिका लागि वर्तमान पाँच दलीय गठबन्धन बनेको बताउँदै आउँदो निर्वाचनमा मतदाताले विवेक प्रयोग गर्नुपर्ने जनाए । ‘यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास गर्नका लागि बनेको हो’, उनले भने, ‘यो गठबन्धनले मुलुकलाई सही दिशामा लैजाने छ । शान्ति, राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ ।’
उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलहरुलाई सहयोग गर्न आग्रह गरे । निर्वाचनबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरी प्रतिनिधि चुन्ने भएकाले यसलाई विथोल्ने, हिंसा भड्काउने काम गर्न नहुने भन्दै उनले यस्ता कार्य रोक्न सरकार लागि परेको र केही समूह, राजनीतिक दलसँग छलफल गरिरहेको बताए । स्थानीय निर्वाचनमा धेरै मत बदर भएको बताउँदै गृहमन्त्री खाँणले मतदाता शिक्षामा विशेष ध्यान दिन आग्रह गरे ।
काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार योगेन्द्र चौधरी, क्षेत्र नम्बर ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार लोसपाका सन्तोषकुमार पाण्डेय, काँग्रेस नेता तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार देवीप्रसाद चौधरी र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ का इन्चार्ज तिरबहादुर रोकामगर (डार्बिन) लगायतले बोल्दै अहिलेको गठबन्धन प्रतिगमनका विरुद्ध र संविधान, लोकतन्त्र, संघीयताको रक्षा एवं स्थायित्वको लागि भएको बताए ।



