असोज ८
गृहमन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् । उनले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न आग्रह गरे । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व–२०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताए । उनले नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताए । उनले संविधान अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरेका छन । उनले भने, ‘लाखौं नेपाली युवायुवती नागरिकताबाट वञ्चित भएका छन्, नागरिकता प्राप्त आमाबुवाका सन्तान अनागरिक भएर बस्न बाध्य छन्, नागरिकता नभएको कारण असहजताको जीवन बाँच्नुपरेको छ ।’
मन्त्री खाँणले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताए । दुईपटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक संविधान प्रतिकुल नभएको उनले जिकिर गरेका छन ।
मन्त्री खाणले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए ।



कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निसा, लुम्बिनी प्रदेश सासद रमा अर्याल, महासमिति सदस्य पुष्पा थरुनी, देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पाण्डेय, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, क्षेत्र नम्बर २ का कार्यवाहक सभापति पर्शुराम ढकाल, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्र जंग थापा, कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का लगायतले बोल्दै कांग्रेसका लागि मंसिर ४ गते ठूलो चाडपर्व भएको बताए । उनीहरुले कांग्रेसको नेतृत्वमा मुलुकमा संविधान बनेको र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



