असोज, ८
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमाथि अमेरिका र चीनको तानातान बढेको बताएका हुन् ।



भूराजनीतिक संकटका कारण देशमा संघीयता कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
‘जुन भूराजनीतिक संकट चीन–अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ’ उनले भने ।
अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाए ।



