भदौ ५,
राजनीतिज्ञ तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गरेका छन् । बिहारका मुख्यमन्त्री नीतिश कुमार, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता मोहन प्रकाश, बहुजन समाज पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले गिरिको निधनप्रति शोक व्यक्त गरेका छन् ।
बिहारका मुख्यमन्त्री नीतिश कुमारले फेसबुकमार्फत् निधन प्रति दुःख व्यक्त गरेका छन् ।
’नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभामा माननीय सदस्य प्रदीप गिरिजीको निधन दुखद् । उनी नेपाली राजनीतिका दार्शनिक र समाजवादी चिन्तक थिए,’ नीतिश कुमारले फेसबुकमा लेखेका छन्, ’उनले राजनीतिक घेरा बाहिरका सबै विचारधाराको राजनीतिक दलबाट आदर एवं सम्मान प्राप्त गरे । ईश्वरले उनको आत्मालाई शान्ति दिउन् ।’
यस्तै भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव येचुरीले गिरि प्रजातन्त्रको अविचलित योद्धा भएको बताएका छन् । ’मेरो अनन्य मित्र तथा सहयोद्धा प्रदीप गिरिको निधनले गहिरो दुःखमा छु,’ येचुरीले ट्विटमा लेखेका छन्, ’उनी प्रजातन्त्रको अविचलित योद्धा थिए, नेपालमा राजतन्त्र विरोधी आन्दोलनको नेतृत्व र भारतको सधैँका मित्र थिए । सलाम प्रदीप ।’



त्यस्तै भारतीय कांग्रेसका प्रवक्ता मोहन प्रकाशले गिरिलाई समाजवादी, गान्धीवादी र लोहियावादी भएको बताएका छन् ।
’नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मेरा अत्मिय मित्र सांसद प्रदीप गिरिको निधनमा धेरै दुखी छु,’ मोहन प्रकाशले ट्विटमा लेखेका छन्, ’उनी एउटा सच्चा समाजवादी, गान्धीवादी र लोहियावादी थिए र सामाजिक विषयमा आफ्नो पूरै जीवन समर्पित गरे ।’
मोहन प्रकाशले गिरि बिरामी हुँदा नेपालमा आएर भेट्न नपाएकोमा पनि दुःख व्यक्त गरेका छन् ।
’तपाईँलाई हेर्न करिब त्यहाँ आउन लागेको थिएँ तर तपाईँले मलाई भेट्ने मौका दिनु भएन । त्यो पीडा सधैँ रहने छ,’ मोहन प्रकाशले लेखेका छन्, ’भगवानले मृत आत्मालाई शान्ति र शोकमा रहेको परिवारलाई सहयोग गरुन् । अलविदा प्रदीप जी।’
बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले प्रदीप गिरिको निधनमा व्यक्त गर्ने शब्द नै नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।
’नेपालका महान लोकतन्त्रका सेनानी, मेरा परममित्र प्रदीप गिरिको निधनको जानकारी बिहान पाएँ, मनको दुःखको भाव शब्दमा कसरी भनुँ,’ भदौरियाले ट्विटमा लेखेका छन्, ’आज भारतले एउटा मित्र, सही सल्लाह दिने र अन्यायविरुद्ध आवाज बुलन्द गर्ने व्यक्तिलाई गुमाएका छौं । प्रदीपजीलाई विनम्र श्रद्धाञ्जली ।’



