असार २८
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभागका प्रमुख लिउ चियानछाओले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको निवासमा मंगलबार चार घन्टाभन्दा बढी समय बिताएका छन् ।
उक्त अवसरमा ओलीको नेतृत्वमा रहेको एमालेको टोली र लिउको नेतृत्वमा रहेको सीसीपीको टोलीबीचमा कुराकानी भएको थियो । ओली र लि बीचको भेटवार्तामा उपस्थित एमालेका विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार लिउ बिहान १० बजे आएर साढे २ बजे बालकोटबाट निस्केका हुन् । उक्त अवसरमा झन्डै साढे एक घन्टा लन्च खान लागेको र अन्य समयमा द्विपक्षीय कुराकानी भएको भट्टराईले जानकारी दिए ।
लिउलाई पूर्वप्रधानमन्त्री ओलीले नेपाल र चीनबीच कुनै पनि समस्या नरहेको बताएका थिए । ‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ । विगतदेखि नै हामी एक चीन नीतिमा अडिग छौं र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्रराष्ट्रहरुविरुद्ध गतिविधि हुन दिदैनौं,’ ओलीको भनाइलाई उद्धृत गर्दै भट्टराईले भने।
भट्टराईका अनुसार अध्यक्ष ओलीले लिउलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तन आउँदासमेत एमालेको चीन नीति उही रहने प्रस्ट पारेका थिए । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीले भनेका थिए ।
ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिएका थिए । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।
चिनियाँ नेता लिउले नेपाल, नेपाली जनता र एमालेले एक चीन नीतिप्रति खेलेको भूमिकालाई लिएर प्रशंसा गरेका थिए । लिउले आफ्नो मुलुकले कुनै पनि देशमा हस्तक्षेप नगर्ने र नेपालमा पनि त्यो नहुने प्रस्ट पारेको भट्टराईले जानकारी दिए । ‘चीनले नेपाललाई विकास साझेदार रूपमा बढाउँदै आएको छौं र अरु थप अघि बढाउन चाहन्छ,’ लिउको भनाइलाई उद्धृत गर्दै भट्टराईले भने,‘चीनले आफै हिसाबले मार्क्सवादलाई व्याख्या गरेको र नेपालमा तपाईंहरुले आफ्नै हिसाबले व्याख्या गर्नु भएको छ । हामी आ–आफ्नो हिसाबमा अघि बढेका छौं ।’ लिउले एमालेले चीनमाथि लिएको नीतिलाई लिएर खुसी व्यक्त गरे ।
यसै गरी
नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी भएका थिए् ।
‘नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएकोे बुझिएको छ ।






