असार २७,
नेपाल भ्रमणको दोस्रो दिन उच्च तहको भेटघाटमा व्यस्त चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन् ।
काठमाडौं महानगरपालिको काठमाडौं दरबार छेउको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा उनी आउने खबरले सोमबार बिहानैदेखि चहलपहल थियो । शिक्षक, विद्यार्थी, अभिभावक बिहानै विद्यालय आइपुगेका थिए । एउटा कक्षाकोठाभित्र दाल, भात र तरकारी पाक्दै थियो । बाहिरपट्टी सुरक्षाकर्मीको बाक्लो चहलपहल ।



करिब ११ बजे तिर लिउ जियानचाओ भ्रमण टोलीका केही सदस्यसहित विद्यालय पुगेका थिए । त्यहाँ ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम थियो । उनीसँगै ऊर्जामन्त्री पम्फा भुसाल पनि त्यहाँ पुगेकी थिइन् । भुसालले कार्यक्रम उद्घाटन गरिन् । आयोजकले कार्यक्रमबारे संक्षिप्त जानकारी दिएपछि उनको बोल्ने पालो आयो उनले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने आफ्नो इच्छा रहेको सुनाए । त्यसपछि उनी हातमा पन्जा लगाएर पाकिरहेको भात, तरकारी पस्कन अघि सरे । स्कुलका बालबालिका थाल थाप्दै अघि बढे । एक हुल विद्यार्थीलाई खाना बाँडेपछि उनी विद्यार्थीले खाँदै गरेको कक्षाकोठामा छिरे र फोटो खिचाए । एकछिन घुमफिर गरेर भ्रमणका नियमित कार्यक्रमतर्फ फर्किए ।
विदेश विभाग प्रमुख जियानचाओले बिहान सुन्दरीजलस्थित बीपी संग्राहालय भ्रमण गरेर सिधै विद्यालय आइपुगेको बताए । ‘नेपाल र चीनबीचको वर्षौं पुरानो मित्रवत् सम्बन्ध बालबालिकालाई बुझाउन जरुरी छ,’ उनले भने, ‘नेपाल चिनको असल, साझेदार र छिमकी साथी हो ।’ दुई देशका जनताबीच पनि त्यस्तै सम्बन्धन हुनुपर्नेमा उनले जोड दिए । चिल्ड्रेन स्माइल कार्यक्रम चिनियाँ राष्ट्रपति तथा पार्टीका महासचिव सी जीनफिङले सुरु गरेको कार्यक्रम रहेको उनले जनाए । उक्त कार्यक्रम पाकिस्तान, म्यानमार, सुडान, इथियोपिया र नेपालमा सुरु गरिएको ग्लोबल डेभल्पमेन्ट एन्ड साउथ–को–अपरेसन फाउन्डेसनले जनाएको छ । उक्त फाउन्डेसन र चाइना फाउन्डेसन नेपालले शान्ति निकुञ्जमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रममा विदेश विभाग प्रमुख जियानचाओले चीन र नेपालको सम्बन्धको भविष्य झनै उज्ज्वल रहेको बताए । बालबालिकाले सम्बन्ध प्रगाढ बनाउन सम्बन्धको बीउ रोप्दै जाने उनको भनाइ थियो । ‘नेपाल र चीनका नेताहरू मिलेर सम्बन्धलाई अझै उचाईमा पु¥याउन सकिन्छ,’ उनले भने, ‘सामाजिक सम्बन्धलाई अझै अगाडि बढाउनुपर्छ, नेपाल, चीनका सामाजिक संगठन मजबुत बनाएर अघि बढ्नुपर्छ ।’
उक्त कार्यक्रम चिनियाँ गाउँ विकास कोषले सञ्चालन गरेको कार्यक्रम रहेको फाउन्डेसनले जनाएको छ । कार्यक्रममा ऊर्जामन्त्री भुसालले चीन दुःख सुखको साथी रहेको बताएकी थिइन् । ‘भुकम्प र कोभिड महामारीमा चीनले ठूलो सहयोग गरेको छ,’ उनले भनिन, ‘चीनको आर्थिक, प्राविधिक सहयोग अझै खाँचो छ; शिक्षा, स्वास्थ्य जलस्रोत, खेलकुदमा सहयोग गर्दै जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन चाहन्छौं ।’ फाउन्डेसनले काठमाडौं, सप्तरी, दोलखा र महोत्तरीका केही विद्यालयमा खाद्यन्न सामाग्री सहयोग र काठमाडौं, ललितपुर र दाङ जिल्लाका केही विद्यालयमा स्माइल कार्यक्रम अर्न्तगत दिवा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।



