एक चीन नीतिप्रति प्रतिबद्व छौँ ः महामन्त्री थापा

२०७९ असार २७, सोमबार
पढ्ने समय : 2 मिनेट

असार २७,
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टी एक चीन नीतिप्रति पूर्णरुपले प्रतिबद्व रहेको बताएका छन् । उनले कांग्रेसको स्थापनाकालदेखि नै कांग्रेसले छिमेकी मुलुक चीनसँगै एउटै प्रकृतिको सम्बन्धलाई निरन्तरता दिएको र अब पनि पूर्ण प्रतिबद्व रहेको बताए ।

सोमबार ललितपुरमा भएको एक कार्यक्रममा महामन्त्री थापाले नेपालको आन्तरिक मामिलामा मित्र राष्ट्रहरूले आफ्नो प्रभाव पार्ने कोसिस गर्दा समस्या आउने गरेको बताए ।

‘अहिले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा हुनुहुन्छ । आइतबार साँझ हामीले उहाँलाई नेपाली कांग्रेसको तर्फबाट भेट्यौँ, स्वागत ग¥यौँ, र नेपाली कांग्रेसको तर्फबाट प्रष्ट कुराहरु राख्यौँ,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस बीपी कोइरालाको मार्गदर्शनमा अघि बढेको पार्टीको हो । बीपीकै पालादेखि नेपाल–चीनबीच विशिष्ट सम्बन्ध छ, त्यो हामीले स्थापनाकालदेखि ध्यानमा राखेका छौँ, त्यो कुरामा एक इन्च पनि तलमाथि हुँदैन । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । कसैले बहकाएर बहकिदैनौँ, बहकिन दिँदैनौँ ।’ महामन्त्री थापाले चिनियाँ नेता लिउलाई नेपालको आन्तरिक मामिलामा जुन पार्टीको सरकार भएपनि समान व्यवहार राख्न आग्रह गरेको बताए ।
‘नेपालमा विकासको ठूलो आवश्यकता छ । हाम्रो स्रोत साधनको उपलब्धता कमजोर छ, हाम्रो मुलुकको विकासका लागि आफ्नोमात्रै स्रोतसाधनले धान्दैन । हामी चीनजस्तै अरु देशहरुको पनि सहयोग लिन्छौँ, हामी बीआरआई लिन्छौँ र एमसीसी पनि लिन्छौँ । हामी सबै देशहरुसँग मिलेर काम गर्न चाहन्छौँ,’ थापाले लिउलाई कांग्रेसकातर्फबाट आग्रह गरेको सुनाउँदै अघि भने, ‘हामी कहिल्यै कुनै पनि शैन्य गठबन्धनमा छैनौँ, बस्दैनौँ । मित्र राष्ट्रहरूको बीचमा तनाव आउनसक्छ, तर हामीलाई त्यसमा बोल्नु छैन । हामी विश्व शान्तिको पक्षमा छौँ । हामीलाई कसैको पनि पक्ष वा विपक्षमा लाग्नु छैन । यति हुँदा हामीलाई चीनसँग पनि अपेक्षा छ, अरु मित्र राष्ट्रसँग पनि त्यही अपेक्षा हुन्छ, कि नेपालको सरकारमा कांग्रेस होस् वा माओवादी होस् वा एमाले होस, तपाईंहरुको एउटै दृष्टिकोण हुनुपर्छ ।’
महामन्त्री थापाले नेपालको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गरेको स्वीकार्य नहुने बताए ।

‘हामीले चीनलाई मात्रै होइन, भारत र अमेरिकालाई पनि त्यही भनेका हौँ, भन्छौँ । हाम्रो आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप सह्य छैन । हामीले चीन हडपेको भूमि होस् वा भारतले कब्जा गरेको कालापानी र लिपुलेक किन नहोस्, हामी लिएरै छोड्छौँ । हाम्रो भूमि एक इन्च पनि छोड्दैनौँ । यो कुरा हिजो हामी सडकमा हुँदा पनि भनेका हौँ, अहिले सरकारमा हुँदा पनि भनिरहेका छौँ । राष्ट्रियताको सवालमा नेपाली कांग्रेस प्रष्ट छ, जिम्मेवार छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय