चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ती

२०७९ असार १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असार १७
पछिल्लो समय चीनले नेपालको आन्तरिक मामिलामा एकपछि अर्को अभिव्यक्ति दिन थालेको छ। नेपाल सरकारले एसपीपी खारेज गर्ने निर्णय गरेपछि चीनले त्यसको प्रशंसा गरेको छ । यसअघि एमसीसीको विषयमा पनि अमेरिकी अनुदान सहायता नलिन दबाब दिएको थियो।

चीनको यस्तो गतिविधिप्रति नेपालका कूटनीतिज्ञहरुले आपत्ति जनाएका छन्। भारतका लागि पूर्वराजदूत भेषबहादुर थापाले नेपालले एसपीपी खारेज गर्ने निर्णयप्रति चीनले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आलोचना गरेका छन्।

उनले यसलाई चीनको कूटनीतिक मूल्य मान्यताको उल्लंघन गरेकोसमेत बताएका छन्। उनले चीनले पछिल्लो समय नेपाल र अमेरिकाको आन्तरिक मामिलामा अभिव्यक्ति दिनु गम्भीर भएको बताएका छन्। उनले भने, ‘चीनको पछिल्लो कदमले नेपालको कूटनीति पनि शंकाको घेरामा परेको छ। नेपालका अधिकारीहरुसँग विविध विषयमा चिनियाँ पक्षले अविश्वास गरेको देखिन्छ।’

नेपालका राजनीतिक दलका नेताहरु महत्वपूर्ण राष्ट्रिय मुद्दामा विभाजित हुने भएका कारण पनि अन्य मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको देखिन्छ। अन्य मुलुकलाई बोल्न नदिनका लागि नेपालका नेताहरुले एकताबद्ध भएर आन्तरिक मामिलामा नबोल्न भन्न सक्नुपर्ने उनले बताएका छन्।

कुनै पनि मुलुकले गर्ने यस्ता टिप्पणीहरु बन्द गराउन नेपालले ठूलो राजनीतिक र कूटनीतिक मिहनेत गर्नुपर्ने उनको भनाइ छ। उनले एमसीसी चीनको विपक्ष र बीआरआई अमेरिकाको विरुद्धमा नभएको बताएका छन्।

उनले भने, ‘यस्ता कुराहरुमा सम्पूर्ण राजनीतिक दलहरुले सहमति गरेर साझा धारणा बनाउनुपर्ने छ। भूराजनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालका राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेर राष्ट्रिय मुद्दाहरुमा साझा धारणा नबनाएको अवस्थामा सहज हुने देखिँदैन।’

पछिल्लो समय चीनले गोरखामा दशगजा सीमा क्षेत्रमा तारबार लगाएको कुरा बाहिरिएको थियो। यस विषयमा कम्युनिस्ट नेताहरुले बोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय