नेपाल–भारत विकास साझेदारी अन्तर्गत इनरुवामा विद्यालय भवन निर्माणको शिलान्यास

२०८१ फाल्गुन २८, बुधबार
पढ्ने समय : 2 मिनेट

फागुन २८
सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौंस्थित भारतीय दूतावासका उप प्रमुख प्रमोद श्रीवास्तव, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा शिलान्यास सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको पनि उपस्थिति थियो।

भारत सरकारको “नेपाल–भारत विकास सहयोग“ अन्तर्गत २.४३ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिनेछ। दुई तले भवन निर्माणको जिम्मेवारी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत रहेको छ। परियोजनाले विद्यालयसँग सम्बन्धित अन्य आवश्यक सुविधाहरु निर्माणमा समेत योगदान पुर्याउनेछ। निर्माण सम्पन्न भएपछि विद्यालयका विद्यार्थीहरुलाई थप सहज र गुणस्तरीय वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

श्री त्रिभुवन माध्यमिक विद्यालयको स्थापना वि.सं. २०१८ मा भएको थियो। हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ। करिब ७५० विद्यार्थी क्षमता रहेको यस विद्यालयमा हाल ५५% छात्राहरु अध्ययनरत छन्। विद्यालय व्यवस्थापन समितिका अनुसार नयाँ भवन निर्माणपछि विद्यार्थी संख्यामा अझै वृद्धि हुने अपेक्षा गरिएको छ।

भारतीय दूतावासका उप प्रमुख प्रमोद श्रीवास्तवका अनुसार २००३ यता भारत सरकारले नेपालमा ४५३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ, जसमा विद्यालय, स्वास्थ्य संस्था, सडक पूर्वाधार तथा अन्य सामाजिक परियोजनाहरु समावेश छन्। कोशी प्रदेशमा मात्रै भारत सरकारले ११ वटा परियोजनाहरु संचालन गरिरहेको छ। नेपालका विभिन्न भागमा १००० वटा एम्बुलेन्स तथा ३०० वटा स्कूल बस हस्तान्तरण गरिसकेको छ, जसमध्ये कोशी प्रदेशमा १४५ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस हस्तान्तरण भइसकेका छन्।

कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधिहरुले भारत सरकारलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै, यस प्रकारका परियोजनाहरुले नेपाली समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे। विद्यालय व्यवस्थापन समितिले नयाँ भवन निर्माणपछि आधुनिक शिक्षण प्रविधि भित्र्याउने र पूर्वाधारलाई अझ व्यवस्थित बनाउने योजना रहेको जानकारी गरायो।

भारत सरकारका अधिकारीहरुले आगामी दिनमा पनि नेपाल–भारत विकास साझेदारीलाई थप मजबुत बनाउँदै प्राथमिकताका क्षेत्रहरुमा सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय