वैशाख २१,
त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि एक घण्टाभन्दा बढी आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको थियो ।
बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि आन्तरिक उडान रोकिएको हो ।



यस्तै बिहान विमानस्थलमा रहेका मानिसहरू तितरबितर भएका थिए । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विदेशबाट आएको फोनमा नेपालको विमानस्थलका ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट कल आएको थियो ।
त्यसलगत्तै विमानस्थलमा बम डिस्पोल टोली खटाएर अनुसन्धान गरिएको हो । साथै अहिले उक्त टेलिफोनबारे अनुसन्धान गरिएको प्रवक्ता सिटौलाले बताए ।
थ्रेट कल आएपछि १० बजेपछि नै आन्तरिक उडान रोकिएको थियो ।। ११ बजेपछि उडान पुनः सञ्चालन भएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
ठाकुरका अनुसार उक्त फोनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने छ ।



