काशी पत्रकार सङ्घद्वारा लुम्बिनी प्रेस क्लबलाई भव्य स्वागत, नेपाल–भारत पत्रकारिता सम्बन्ध थप प्रगाढ

२०८२ मंसिर १६, सोमबार
पढ्ने समय : 2 मिनेट

भैरहवा मसिर १५
भारतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन–अवलोकनमा रहेको लुम्बिनी प्रेस क्लबका पत्रकार टोलीलाई काशी पत्रकार सङ्घले बनारसमा गरेको भव्य स्वागत र सम्मानले नेपाल–भारतको पत्रकारिता सम्बन्ध र आपसी सद्भाव अझ प्रगाढ बनेको छ। नेपाल–भारतका पत्रकारहरूको सम्बन्धलाई कमजोर पार्ने कुनै पनि नकारात्मक प्रयत्नलाई कमजोर बनाउँदै काशीमा प्राप्त सम्मानले दुई देशका सञ्चारकर्मीबीचको सहकार्यलाई नयाँ उचाइ दिएको छ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल–भारतको पत्रकारितालाई अझ मजबूत बनाउन दुवै देशका पत्रकारबीच निरन्तर संवाद, विनिमय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बनारसलाई शैक्षिक तथा आध्यात्मिक हब को रूपमा परिचित गराउँदै यसलाई नेपालका धार्मिक तथा सांस्कृतिक गन्तव्यसँग जोड्न सकिने उल्लेख गर्नुभयो।
रायमाझीले भन्नुभयो, “नेपाल र भारत एकअर्काको संस्कृति, आस्था र इतिहासका साझेदार हुन्। पत्रकारिताको सम्बन्धलाई संस्थागत रूपमा विस्तार गर्दा दुवै देशको पर्यटन, संस्कृति र समाज जोडिन्छ।”
कार्यक्रममा काशी पत्रकार सङ्घका अध्यक्ष अरुण मिश्रले नेपाल र भारत धर्म, संस्कृति र भाषागत रूपमा ठूलो समानतामा बाँधिएका देश भएको उल्लेख गर्दै लुम्बिनी र काशीले दुवै राष्ट्रलाई विशेष रूपमा जोड्ने बताउनुभयो। उहाँले पत्रकारहरूको हक–अधिकार, क्षमता अभिवृद्धि र सहकार्यका क्षेत्रमा लुम्बिनी प्रेस क्लब र काशी पत्रकार सङ्घले संयुक्त रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
मिश्रले भन्नुभयो, “लुम्बिनी प्रेस क्लबले काशीमा पाएको सम्मान हाम्रो साझा सम्बन्धको प्रतीक हो। यो सहकार्यलाई संस्थागत रूपमा अघि बढाइनेछ।”
त्यस्तै, महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले नेपाल–भारतबीच पत्रकारितामार्फत सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध विस्तार गर्न सकिने उल्लेख गर्दै दुवै देशका पत्रकारले एकअर्काको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समाचार–प्रवर्धनमार्फत सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालका पवित्र स्थलहरू—लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ आदिका बारे भारतीय पत्रकारिता क्षेत्रले बढी ध्यान दिनुपर्ने र भारतका प्रमुख धार्मिक गन्तव्यका बारे नेपाली पत्रकारले पनि सकारात्मक सामाग्री तयार गर्नु जरुरी रहेको बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा काशी पत्रकार सङ्घ, लुम्बिनी प्रेस क्लब र महाराजगंज प्रेस क्लबका पदाधिकारीहरूले पत्रकारिता, पर्यटन प्रवर्धन, धार्मिक सद्भाव, द्विपक्षीय सम्बन्ध र सांस्कृतिक कूटनीति लगायत विषयमा आफ्ना धारणा राखेका थिए।
नेपाल–भारत धार्मिक र साँस्कृतिक पर्यटन प्रवर्धनको उद्देश्यसहित भ्रमणमा रहेको लुम्बिनी प्रेस क्लबका पत्रकार टोलीलाई काशी पत्रकार सङ्घले गरेको भव्य सम्मानले दुवै देशबीचको सञ्चारकर्मी स्तरको सम्बन्धलाई अझ मजबुत बनाएको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय