भैरहवा कार्तिक १२
रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगीले आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महसुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोशित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
उद्योगीहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहीबार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहीबार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिएका छन । आचार्यले उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्थाका प्रतिनिधि, श्रमिक, कर्मचारीको सहभागीता रहने बताएका छन ।अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने जनाइएको छ।अध्यक्ष आचार्यका अनुसार १३ वटा उद्योगमा विद्युतको लाइन काटिएको छ ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले उद्योगीलाई अन्याय भएको र नेपाल विद्युत प्राधिकरणले निशर्त रुपमा विद्युतको लाइन नजोडेसम्म अन्य वक्यौता पनि नतिर्ने बताएका छन।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको गलत निर्णयका कारण उद्योग बन्द भइ श्रमिक मर्कामा परेको बताएका छन । गौतमले १५ हजार बढी मजदूर बेरोजगार हुने अवस्थामा रहेको जानकारी दिएका छन । भोली हुने धर्ना कार्यक्रममा श्रमिक संगठनको उपस्थिति रहने गौतमले जानकारी दिएका छन।









