भैरहवा साउन १५
रुपन्देहीको भैरहवामा रहेको एक सहकारी संस्था गठीमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ५, मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले दोलखाको साविक डाँडाखर्क गाविस वडा नं. ७ (हाल मेलुङ गाउँपालिका वडा नं. ६) बस्ने ३४ वर्षीया अशोक केसीलाई पक्राउ गरेको हो।
उनले शेयर धनी तथा बचतकर्ताको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैयाँ छेहत्तर पैसा हिनामिना गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए । केसी संस्थाका अध्यक्ष समेत हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । प्रहरीले गत बैशाख २० मा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।त्यसपछि रुपन्देही जिल्ला अदालतबाट प्रहरीले केसीविरुद्ध पक्राउ अनुमती समेत लिएको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए । तर, साउन १४ गते प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरी केसीलाई रुपन्देही ल्याइएको सापकोटाले जानकारी दिए । केसीलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।






