१५ बुँदे घोषणासहित सकियो अन्तर्राष्ट्रिय गोष्ठीः लुम्बिनीलाई शान्ति अनुसन्धानको केन्द्र बनाउने घोषणा

२०८२ श्रावण १३, सोमबार
पढ्ने समय : 2 मिनेट

लुम्बिनी साउन १२
१५ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा संचालित ‘दिगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति’ विषयक दुई दिनको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता थियो ।
गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत् गरिएको छ । विश्वका सङ्घर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरू स्थापना गर्नुपर्ने गोष्ठीबाट निष्कर्ष निकालिएको छ ।
प्रकृतिप्रति करुणा र अन्तरनिर्भरता सम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धन गर्ने, कुटनीतिज्ञहरूका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम सुरु गर्नुवर्ने घोषणा गोष्ठीबाट गरिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरुको धारणा छ ।त्यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तहरूसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरुमा एकीकृत शान्ति पर्यटनलाई प्रवद्र्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने निष्कर्ष विज्ञहरुले निकालेका छन् ।बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्थाहरु निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान, तथा ध्यान निर्देशित गर्ने उपकरणहरूसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीहरूको विकासलाई प्रवद्र्धन गर्नुपर्ने जोड गोष्ठीबाट दिइएको छ ।
ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यहरूमा आधारित शान्ति सूचकहरूको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालयहरू र सरकारी निकायहरूसँग सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्कहरू गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने घोषणा गोष्ठीले गरेको छ । ‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष गर्ने, अन्तर्राष्ट्रिय कानून र द्वन्द्व समाधानका लागि बौद्ध कानूनी दर्शनको अध्ययन र प्रयोग प्रवद्र्धन गर्ने घोषणा गरिएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना, र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थाहरूसँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने घोषणा गरिएको छ ।गोष्ठीमा बुद्ध शिक्षा र विश्व कुटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा गोष्ठी भएको थियो । गोष्ठीमा कुटनीतिक एवं पूर्वराजदुत प्रा.डा. लोकराज बराल, भारतका पूर्व राजदूत डा. अमरेन्द्र खटुवा, पूर्व राजदूत रुचि घनश्याम, पूर्व राजदूत टंक कार्की लगायतका विज्ञहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५८ जना विद्वानहरुले एजेण्डमा रहेर छलफल गरेका थिए । दुई दिनसम्म चलेको गोष्ठीमा पूर्व राजदूत, विश्वविद्यालयका उपकुलपतिहरु, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरुमा पनि गोष्ठीलाई निरन्तरता दिने जनाउदै सेमिनार सम्पन्न गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिकरत्न शाक्यले घोषणा पत्र सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय