भैरहवाका युवा उधोगी अजय गुप्ताले रुपन्देही ३ को चुनावका लागि गरे उम्मेदारी घोषणा

२०८२ असार २६, बिहीबार
पढ्ने समय : 2 मिनेट

भैरहवा असार २६

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भैरहवाका युवा उधोगी अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि रिक्त पदमा यहाँ हुने उपनिर्वाचनमा अहिले उम्मेदारी घोषणा सुरु हुन थालेको छ ।

राप्रपा रुपन्देहीको उपाध्यक्षबाट तीन महिनाअघि राजीनामा दिएका सिद्धार्थनगर नगरपालिका–३ का ४३ वर्षीय गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरे । विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेका गुप्ताले अहिले कुनै पार्टीमा नभएको जनाएका आफू हाल स्वतन्त्र युवा भएको बताएका थिए।
उनले गत वैशाख ३० गते राप्रपा परित्याग गरेका थिए । ‘अबको नेतृत्व रैथाने युवाको’ हुनुपर्ने नाराका साथ आफू अघि बढेको उनले बताए । ‘म भैरहवामा जन्मे, यही हुर्के, शिक्षा पाएँ, उद्योगव्यवसाय सञ्चालन गरे, मेरो बाल्यकाल यही बित्यो । म यहाँको स्थानीय भएकोले यहीको माटोको माया छ, ’उनले भने । उनले रुपन्देही–३ ले रैथाने युवा नेतृत्व खोजिरहेको दावी गरेका छन।
विगतमा निर्वाचित जनप्रतिनिधिहरुले जनतामाझ गरेका वाचा काठमाडौं पुगेपछि बिर्सिएको उनको भनाइ छ । राजनीतिक नेतृत्वले ध्यान नदिएका कारण अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको गुप्ताले जनाए । रुपन्देही–३ का मतदाताले आमूल परिवर्तन खोजेको उनको भनाई छ । स्वतन्त्र उम्मेदवार वा कुनै राजनीतिक दलबाट भन्ने पत्रकारहरुको प्रश्नमा उम्मेदवारी दर्ता गर्ने समय रहेकोले त्यो बीचमा आवश्यक छलफल गरेर पछि घोषणा गर्ने र अहिले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिने घोषणा गरेको उनले बताए ।
पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार, क्षेत्र विस्तार आफ्नो प्रमुख एजेण्डा रहेको उनले जानकारी दिए। पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक महत्वका कार्यक्रममा पहल, कृषकको आर्थिक सुधारका लागि मल, बिउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीको बजारीकरण, उद्योगी÷व्यवसायीहरुले भोग्नुपरेको समस्याहरु समाधानका लागि उच्च प्राथमिकता, गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि समाधानको पहल, जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीलाई विश्व बजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी, अन्तर्राष्ट्रिय रुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्र विस्तार गरी उपमहानगर बनाउने पहल गर्ने आफ्नो एजेण्डा रहेको उनको भनाइ छ ।
बुवा रतनकुमार गुप्ता नै आफ्नो प्रेरणाको स्रोत र आदर्श भएको उनले बताए। रतन गुप्ताले वि.सं २०४९ देखि २०५४ सालसम्म सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय