
भैरहवा असार १८
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बताएका छन । सभापती गुरुङले बालगृहमा रहेका बालबालिकालाई खाना खुवाउनुका साथै यहाँ आवश्यक रहेको सिलाई मेसिन प्रदान गरिएको जानकारी दिएका छन ।
साथै बालगृहलाई १५ हजार ५ सय ५५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । सभापति गुरुङले नेपालको राजनीतिक इतिहासमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको योगदानबारे जति भने पनि कम हुने बताएका छन । राजनीतिसँगै सामाजिक कार्य पनि गर्नुपर्छ भनेर काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले बालगृहमा कार्यक्रम गरेको गुरुङको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले काँग्रेस क्षेत्र नम्बर ३ समितिले रचनात्मक कार्य गरेको बताएका छन । खाणले यस्तो कार्य पार्टीका अन्य तहहरुका लागि पनि नवीनतम दृष्टिकोण बन्न सक्ने धारणा राखेका थिए । सभापति खाणले मानवीय सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताएका छन। ‘सिद्धार्थ बाल गृहको सञ्चालक कृष्णमाया गुरुङले व्यक्तिगत सुखसुविधा त्यागेर बालबालिकाको सेवामा लाग्नुभएको छ, यो मानवीय कार्य हो, ’ खाणले भने । सभापति खाणले गिरिजा प्रसाद कोइरालाको जति वर्णन गरे पनि कमै हुने बताउदै बाल गृहका लागि जग्गा व्यवस्थापन हुन सके सञ्चालन गर्न सहज हुने बताएका थिए।



लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले बालगृहको जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताएका छन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बालगृहलाई आवश्यक सहयोग गर्ने बताएका थिए ।
संविधान सभा सदस्य जन्नतुन निसाले काँग्रेस क्षेत्र नम्बर ३ ले सराहनीय कार्य गरेको बताएकी थिइन । काँग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापाले बालगृहमा पुण्य कार्य भएको भन्दै बालगृहलाई नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए।
पार्टीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का सभापति विजयनाथ धवलले राजनीतिक पार्टीले राजनीति मात्र नभइ समाजसेवा पनि गर्नुपर्नेमा जोड दिएका थिए । बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले आगामी दिनमा पनि बालगृहले साथ र सहयोगको अपेक्षा राखेको बताउदै बालगृहले मासिक ६१ हजार घरभाडा तिर्दै आएको जानकारी दिदै जग्गा व्यवस्थापन हुन सके भवन निर्माण गर्न सकिने बताएकी थिइन ।
काँग्रेस क्षेत्र नम्बर ३ का उपसभापति सुरेन्द्र जंग थापाको स्वागत, क्षेत्र नम्बर ३ (ख) का सभापति घनश्याम चालिसको धन्यवाद ज्ञापन तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।