लुम्बिनी क्षेत्रमा लगानी गर्न डीएलएफसँग रूपन्देहीका उद्योगी–व्यवसायीको आग्रह

२०८२ जेष्ठ २७, सोमबार
पढ्ने समय : 2 मिनेट

भैरहवा जेठ २६
रुपन्देहीको भैरहवा र आसपासका उद्योगी, व्यवसायीले भारतीय रियलस्टेट कम्पनी दिल्ली ल्याण्ड फाइनान्स (डीएलएफ)लाई लुम्बिनी क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी र आसपास आर्थिक, पर्यटन र बसोबासका केन्द्रका रुपमा बिकास भइरहेको जनाउँदै उनीहरुले लगानी गर्न कम्पनीलाई अनुरोध गरेका हुन् ।
सोमबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा डीएलएफ कम्पनीले भैरहवामा आयोजना गरेको छलफलमा सहभागीले भारतको रियलस्टेट कम्पनीका लागि लुम्बिनी र आसपासका क्षेत्र लगानीयोग्य रहेको बताए । ‘लामो आर्थिक मन्दीपछि अर्थतन्त्र चलायमान हुने अवस्थामा छ,’ सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘यही बेला डीएलएफले पनि लगानीको सम्भावना पहिल्याउन चासो दिनु सकारात्मक हो ।’ ठूलो पुँजीको भारतीय कम्पनीले लगानीमा चासो देखाउनु नेपाल र भारतका लागि अवसर हुनसक्ने उनको भनाई थियो । यसले नेपालको अर्थतन्त्र चलायमान बनाउने उनले बताए ।
ग्लोबल एग्रोटेकका कार्यकारी अधिकृत डा.कोपिला पोखरेल, पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीलिपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे र लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले लगानीका हिसाबले लुम्बिनी क्षेत्र उत्कृष्ट गन्तव्य भएकाले बहुराष्ट्रिय कम्पनी डीएलएफलाई यस क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनीहरुले कम्पनीलाई पहिला यस क्षेत्रमा लगानी गरेर नेपाली उद्यमी–व्यवसायीको मन जित्न अनुरोध गरे । यसमा कम्पनी सकारातम्क रहेको जनाइएको छ ।
छलफलमा डीएलएफकी सहायक प्रबन्धक प्रियंका ओझाले सिमावर्ती क्षेत्रको सहर भैरहवा र आसपास लगानीको ठूलो सम्भावना देखेको बताइन् । आफ्नो कम्पनीले अहिले उत्तर प्रदेश र बिहारका सहरमा लगानी बढाइरहेको जनाउँदैं नेपालमा पनि सम्भावना पहिल्याएर लगानीका क्षेत्रमा लामो सहकार्य गर्न डीएलएफ तयार रहेको उनले बताइन । ‘हामी बुराष्ट्रिय कम्पनी हौं, यो कम्पनीको लगानी सिंगापुर लगायत विश्वका दर्जनौं मुलुकमा छ’, उनले भनिन्, ‘अहिले विश्वको नम्बर वान कम्पनी बन्ने गरी काम गरिरहेका छौं । त्यसैले सम्भावना बोकेका ठाउँमा लगानी गर्छौं ।’
उनका अनुसार डीएलएफ कम्पनीले भारतमा ७८ वर्षदेखि रियलस्टेटको क्षेत्रमा लगानी गरिरहेको छ । ‘डीएलएफले घरमात्र बनाउँदैन,’ उनले भनिन्, ‘एउटा परिवारका लागि एउटै परिसरमा आवश्यक इकोसिष्टम नै तयार गर्छौं ।’ घर खरिद गरेपछि त्यसको मर्मत र रेखदेखसँगैं विक्री गर्न चाहेको खण्डमा त्यसमा पनि सघाउने गरेको उनले बताइन् ।

डीएलएफ कम्पनीका प्रतिनिधि भूपेन्द्र आचार्यले अहिले नेपालका ६ वटा सहरमा लगानीका सम्भावनाबारे छलफल गर्न लागेको जानकारी दिए । उनकाअनुसार पहिलो चरणमा भैरहवासँगैं पोखरा र चितवन पनि छलफल हुनेछ । बाँकी सहरमा दोस्रो चरणमा पुग्ने उनले बताए । ‘नेपालमा पहिलोपटक डीएलएफ कम्पनी आएको छ,’ उनले भने, ‘यो भनेको नेपालीले भारतमा र भारतीयले नेपालमा लगानी गर्ने अवसरको ढोका खोल्ने प्रयास हो ।’ छलफलमा स्थानीय उद्योग व्यवसायीले कम्पनी र त्यसको लगानी पक्रियाबारे जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय