भैरहवा जेठ २१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा नम्बर १० र ११ मा सिंचाई सुविधाका लागि धमाधम बोरिङ गाड्न सुरु गरिएको छ । वडा नं. १० मा गत वर्ष ९ वटा वोरिङ गाडिएको थियो । यो वर्ष वडा नं. ११ मा ६ वटा वोरिङ गाड्ने काम धमाधम भइरहेको छ ।
नगर प्रमुख इश्तियाक अहमद खाँले नगरमा बजेट अपुग भएपछि ब्यक्तिगत लगानीमै ५ वटा बोरिङ जडान गरेका थिए । उक्त वडामा बाँकी ८ वटा गरी १३ वटा बोरिङ जडान गरिएको थियो । निर्वाचनमा कृषि उत्पादन बढाउनका लागि कृषकहरुसँग सिंचाइ सुविधाको प्रतिवद्धता गरेका नगर प्रमुख खाँले नगरको बजेट कम हुँदा आफ्नै व्यक्तिगत १० लाखको लगानीमा ५ वटा बोरिङ जडान गरिदिएका हुन् ।
सुख्खा क्षेत्रमा बोरिङ मार्फत सिंचाई सेवा सुरु भएपछि किसानलाई राहत भएको र नगर प्रमुखले आफ्नै लगानीमा निःशुल्क बोरिङ जडान गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साहित बनेको कृषक माधव मुराउले बताए । कृषक चन्द्रवति कोइरीले सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसँग उब्जनी नहुने जमिनमा सिंचाई सुविधा पछि किसाहरु उत्पादन लिन सफल भएको बताइन् ।
कृषिमा सिंचाइका लागि सिद्धार्थनगर नगरपालिका नगर प्रमुख खाँले खेलेको भूमिका उदाहरणीय रहेको उनले बताइन् । यो बर्ष नगरमा १० लाखको लगानीमा वडा नं. ११ मा ६ वटा बोरिङ जडान गर्ने काम भइरहेको नगर प्रमुख खााँनले जानकारी दिए । बोरिङसँगै विपन्न बर्गाका लागि स्वच्छ पिउने पानीका ट्युवेल जडान समेत गरिएको छ ।
किसानहरुलाई सुख्खा ठाउँमा सिंचाईको सुविधा पुर्याएसँगै किसानहरुको दैनिकीमा फेरबदल हुनुका साथै किसानले राहतको महशुस गरेको नगर प्रमुख खाँले जानकारी दिए । सिद्धार्थनगर औद्योगिक र पर्यटकीय नगरीसँगै यहाँका केही क्षेत्रहरु कृषि उब्जाउमा समेत पकेट क्षेत्र रहेकाले अन्य क्षेत्रको विकाससँगै नगरले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।






