भैरहवा, चैत ३०
बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भैरहवा आएको छ । शनिबार उक्त टोली भैरहवा आएको हो । महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघ (कार)ले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेको छ । आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टिम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणले जानकारी दिए।

महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एशिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।
संघका कोषाध्यक्ष खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भैरहवा आएका हुन् । ‘हामीले खेलाडीको हौसलाका लागि विमानस्थलमा गएर स्वागत गरेका हौं’, उनले भने, ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भएको थियो । लगत्तै महिला टिमको बन्द प्रशिक्षण हुँदैछ । यो यस क्षेत्रका लागि सकारात्मक सन्देश हो ।’
उक्त टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म भैरहवामा बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्नेछ । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । ‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’
इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ । महिला राष्ट्रिय क्रिकेट टिमको स्वागतका लागि संघका अध्यक्ष थापासहित, उपाध्यक्ष धीरज अधिकारी क्षेत्री, कोषाध्यक्ष खाँण लगायत कार्यसमितिका सदस्यहरु गौतमबुद्ध विमानस्थल पुगेका थिए । क्रिकेट खेलाडीहरुलाई खादामालाले स्वागत गरिएको थियो ।






