नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल सेल्स मिसन २०२४’ बेइजिङमा

२०८१ जेष्ठ ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ ७

नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले चीन दौडाहामा रहेका पर्यटन व्यवसायीहरूले सोमबार चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन् । नेपाली राजदूतावासमा आयोजित ‘नेपाल सेल्स मिसन २०२४’ एण्ड बिटूबी कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सहित पाटा नेपाल च्याप्टर, ट्राभल एजेन्सी, होटलहरु र चिनियाँ उद्यमीहरूको सहभागिता थियो।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन चाहेकाले आर्थिक विकास अपरिहार्य रहेको र यसका लागि पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको सुनाए । उनले भने, ‘हामी ट्राभल तथा टुर अपरेटर्सहरूलाई नेपाल र चीनबीच पर्यटन उद्योगमा सहकार्यका लागि उत्प्रेरित गर्दछौं।
नेपाल र चीनबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको तथा चीन र नेपालका बीच पर्यटनका प्रचुर सहकार्यका संभावनाबारे जानकारी गराए । नेपालमा स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, काठमाडौं, पाटन, भक्तपुर दरबार स्क्वायर र लुम्बिनी गरी सात विश्व सम्पदा क्षेत्र रहेकाले यहाँको प्राकृतिक सौन्दर्यले चिनियाँलाई मन्त्रमुग्ध बनाउने विश्वास उनले प्रकट गरे।

लोन्ली प्लानेट, रफ गाइड, ट्रिप एडभाइजर र अन्यले नेपालका विशेषता र अद्वितीय विशेषताहरूलाई पर्यटकीय गन्तव्य वा जीवनमा एकपटक घुम्नैपर्ने गन्तव्यको रूपमा मूल्याङ्कन गरेको भन्दै उनले सांस्कृतिक समानता र भौगोलिक निकटताले नेपाल र चीनलाई नजिक ल्याएको बताए । राजदूत श्रेष्ठले भने, ‘नेपाल र चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले यो कार्यक्रम अहिले निकै सान्दर्भिक देखिन्छ।’

नेपालमा भारतीयपछि चिनियाँहरूको आगमन हुने गरेकोमा पछिल्लोपटक यो आँकडा खस्कँदै गएकाले चिनियाँ पर्यटकको सङ्ख्या बढाउन पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ। कोभिड–१९ महामारीपछि चिनियाँ पर्यटकको आगमन पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । सेल्स मिसनका प्रतिनिधिहरूले महामारीअघिको अवस्थामा ल्याउने कसरत गरिरहेका हुन्। सन् २०१९ मा इतिहासकै सबैभन्दा ठूलो संख्याको रेकर्ड बनाउँदै करीब १ लाख ७० हजारजति चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय