भैरहवा जेठ ४
रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । दुईचरणमा हुने अभियानमार्फत् करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालवालिकालाई आइपीभी खोप लगाइने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
२०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका ती बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । स्वास्थ्य कार्यालयले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन मार्फत् जेठ १३ देखि २३ गतेसम्म दुई चरणमा खोप लगाइने जनाएको छ । खोप लगाउन रुपन्देहीमा ८ सय ५६ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले पोलियोबिरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएको भए पनि २०७३ देखि २०७५ सम्म खोप उपलब्ध नभएकाले नेपाल भरिका बालवालिका उक्त खोप लगाउन बञ्चित थिए । यस पटक उनीहरुका लागि मलुकभर खोप लगाउन सरकारले अभियान नै संचालन गरेको बताए ।
‘बिश्वलाई नै पालियो मुक्त बनाउन नियमित खोप संचालन हुँदै आएको छ’, ढकालले भने, ‘२०७५ पछि नियमित रुपमा पोलियो खोप लगाउँदै आइएको छ ।’ ढकालका अनुसार, २०७० चैत १३ मा दक्षिण एशियाका सवै मुलुकमा पोलियोको बिरामी शुन्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर, पाकिस्तान र अफगानिस्तानमा पोेलियोको विरामी देखा परिरहेकाले ति देशबाट पोलियो संक्रमण हुन सक्ने सम्भावना भएकाले खोपलाई निरन्तरता दिनु परेको हो ।



पोलियो भएकामध्ये ३ प्रतिशतलाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउनका लागि बालवालिकालाई खोप दिने गरिन्छ । जेठको १३ देखि १६ गतेसम्म प्रथम चरण अन्तर्गत बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।
जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कंचन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने छ । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
पाँच वर्षसम्मका बालबालिकालाई पोलियोविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्छ । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनुपर्छ । ढकालका अनुसार पोलियो सङ्क्रमणले स्थायीरुपमा पक्षाघात भएकामध्ये ५ प्रतिशतदेखि १० व्यक्तिको मृत्यु समेत हुने गरेको छ ।
यति मात्रै होइन कोही एकजना व्यक्तिमा भाइरस रहेसम्म पोलियो फैलन सक्छ । त्यसैले सबै शंकास्पद रोगीको खोज, जाँच र अनुसन्धान अनिवार्य हुनुपर्छ । अतिशीघ्र लुलो पक्षघातको लक्षण १५ वर्षभन्दा कम उमेरका कुनै बालबालिकामा देखिए नजिकको स्वास्थ्य संस्थालाई तुरुन्त खवर गरि पोलियोको जाँच र अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।



