चीनमा हुने फोटो प्रदर्शनीबाट नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास

२०८१ बैशाख २९, शनिबार
पढ्ने समय : 2 मिनेट

बैशाख २९
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइलगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (एनसीएफएफ) सँगको सहकार्यमा उक्त कार्यक्रम भएको जनाइएको छ ।


संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सागर श्रेष्ठले चिनियाँ फोटोग्राफरहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताए । उनले सु छुइलगायत फोटोग्राफरसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव समेत गरेका छन् । ‘आगामी दिनमा एनएफपिजे नेपाललाई पनि चीनको कला, संस्कृति र सभ्यता नजिकबाट बुझ्ने मौका दिनुहुन्छ भन्ने विश्वास लिएका छौं,’ श्रेष्ठले भने ।
त्यस्तै, सु छुइले आफु पहिलो पटक २००८ मा नेपाल घुम्न आएको र त्यसपछि ३० पटकभन्दा धेरै पटक घुमिसकेको अनुभव सुनाए । नेपालको सुन्दरतालाई चीनसँगै विश्वमा चिनाउने ठूलो रहर रहेको पनि बताए । उनले भने, ‘मलाई संसारभर घुमौं, फोटो खिचौं भन्ने लागेको थियो, जब म नेपाल आएँ । नेपाल नै विश्व लाग्यो । र, अझै ४०–५० पटक आइरहन मन छ ।’
‘नेपाल खासै ठूलो छैन । तर, यहाँको कला संस्कृतिमा धेरै भिन्नता छ । नेपालीको बानी व्यवहारले हामीलाई तान्छ । मेरो बाँकी जीवन नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको भित्री रुपमा फोटो खिच्न पाउँ भन्ने इच्छा छ,’ उनले थपे । कार्यक्रममा एनएफपीजे नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले यस्ता अन्तरक्रिया कार्यक्रमले नेपाल र चीनका फोटोग्राफरबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुर्याउने बताए ।

उनले आगामी दिनमा पनि दुई देशबीच हुने सहकार्यले सम्बन्ध अझ मजबुत बनाउने अवसर मिल्ने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकका फोटोग्राफरहरुका उत्कृष्ट तस्बिर चीनको कुनै सहरमा प्रदर्शनीमा राख्न सके नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय