भारतको साढे तीन करोड सहयोगमा खैरेनीको ढुंग्रेखोलामा तटबन्धन निर्माण, मेयर र दूतावासका प्रथम सचिवले गरे उद्घाटन

२०८१ बैशाख १६, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख १६

भारत सरकारको साढे तीन करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ढुंग्रेखोला तटबन्धन परियोजना उद्घाटन भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण गरिएको परियोजनाको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको जनाइएको छ। यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

‘यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपत्ती विरुद्घ जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ,’ दूतावासले विज्ञप्तिमा भनेको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन्। यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस चितवन जिल्लालाई उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय