भारतीय अनुदान सहयोगमा नेपालमा २१ वर्षमा ५५० उच्च प्रभाव सामुदायिक परियोजना, ४८८ परियोजना निर्माण सम्पन्न

२०८० चैत्र २३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

चैत २३

२१ वर्षमा भारतीय अनुदान सहयोगमा नेपालमा पाँच सय ५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढेका छन्।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएकोमा ४ सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ,जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापार र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय