लुम्बिनीमा सुरु भयो अन्तर्राष्ट्रिय शान्ति महोत्सव

२०८० चैत्र २३, शुक्रबार
पढ्ने समय : 2 मिनेट

चैत २३

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो। महोत्सव भोलिसम्म चल्ने छ।
लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा शान्ति महोत्सव आयोजना गरेका हुन्।

महोत्सव उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्। महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुने आयोजकहरुले बताएका छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि पवित्र तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्य हो।

मेलाको प्रारम्भसँगै शुक्रबार बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा दुई घण्टा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन गरिएको छ। ध्यानका लागि एक सय जना भिक्षुभिक्षुणी र ४ सय जना सर्वसाधारण सहभागी भएका छन्।
महोत्सव अन्तर्गत शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुनेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ।

पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ। दौड र वाकाथन प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने दाबी आयोजकको छ।

लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाउने कार्यक्रम। कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक कार्यक्रम समावेश छन्।

साँस्कृतिक कार्यक्रममा चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनि छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिने तयारी छ।

महोत्सवले भगवान बुद्धको जन्मस्थलमा शान्तिको सन्देश फैलाउने र लुम्बिनीलाई विश्व पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धनमा सहयोग पुग्ने चिनियाँ दूतावासले जनाएको छ।

कार्यक्रममा नेपाल स्थित चिनिया राजदूत छन सोङ्ग,नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य,लुम्बिनी विश्वविद्यालयका निवर्तमान रजिस्ट्रार तिलक आचार्य,पर्यटन बोर्डका प्रतिनिधिसहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय